
चितवनः सौराहामा पालिएका नीजि हात्तीका कारण जंगली हात्ती बस्तिमा आउन थालेपछि त्यहाँका हात्तीहरुलाई वन नजिक एकिकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । हात्ती पाल्दै आएका व्यवसायीहरुले सरकारी तवरबाट जग्गा उपलव्ध गराईदिए आँफुहरु एकिकृत रुपमा हात्ती राख्न तयार रहेको जनाएका छन् ।
सौराहा क्षेत्रमा अहिले मकुना नामको जंगली हात्ती बस्ति पसेर स्थानीयलाई त्रास र दुःख दिदैं आएको छ । यो संगै रोनाल्डो नामको हात्ती हात्ती प्रजनन् केन्द्र हुँदै बस्तिमा आउने गरेको छ । जंगली हात्तीले पोथि हात्ती खोज्दै बस्ति आउने क्रम बढेपछि स्थानियले व्यवस्थापनका लागि माग गरेका हुन । उनीहरुले सामुदायीक वन, मध्यवर्ती सामुदायीक वन, निकुञ्ज वा बस्ति भन्दा पर कुनै खालि ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन । निकुञ्ज प्रशासन, स्थानिय प्रशासन, हात्ती व्यवसायी र स्थानियले यस बिषयमा छलफल समेत थालेका छन् ।
रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतोले स्थानीयहरुको माग अनुसार निकुञ्ज प्रशासन संग छलफल भएको बताउनुभयो । सम्बन्धित वडाका अध्यक्षहरुले यस बिषयमा नगरप्रमुख संग पनि कुरा गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस बिषयमा व्यापक छलफल भईरहेको छ । एकिकृत रुपमा वन नजिक नीजि हात्ती राखेमा जंगली हात्तीले कम दुःख दिने सबैको राय छ ।”
सौराहामा ४५ वटा नीजि हात्ती रहेका छन् । ती मध्ये ३० वटा युनाइटेड हात्ती संञ्चालन सहकारी संस्था अन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले आँफुहरु स्थानीयको माग अनुसार काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नीजि जग्गामा राख्दा वरिपरि घर हुन्छ । सामुदायीक वा मध्यवर्ती वन क्षेत्रका खालि ठाउँ पाए हामी एकिकृत गरेर हात्ती राख्न तयार छौ ।”सधैका लागि एकिकृत गरेर हात्ती राख्ने ठाउँ पाए आबश्यक संरचना आँफुहरुले बनाउने खतिवडाको भनाई छ ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरले आँफुहरु स्थानीयको माग प्रति गम्भिर भएको बताउनुभयो । नीजि हात्तीलाई एकिकृत गरेर राख्नका लागि केही समयका लागि खोर सोर क्षेत्रमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । दिर्घकालिन एबं अल्पकालिन रुपमा हात्ती राख्नका लागि पनि बिभाग संग अनुमति लिनु पर्ने भएकाले लिखित रुपमा माग राख्न भनिएको उहाँले जानकारी दिनुभयो । जंगली हात्तीले बस्ति पसेर धन जनको क्षती पु¥याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना सुरु भए संगै हात्ती बस्ति पस्न थालेको हो ।