
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५, स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र रुपमा अघि वढाईएको छ । हाल सम्म झण्डै १५ प्रतिशत काम सम्पन्न भएको छ ।
महानगरपालिकाले संघ र प्रदेश सरकारको सहकार्यमा रंगशाला निर्माण गरिरहेको हो । महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल १५० जना मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिन पछि यो संख्या २१० पुग्ने छ । चाडपर्वका कारण केही ढिला भएका काम मजदुर थप गरेर लक्ष्यअनुरुप गर्न कामलाई तिब्र बनाईएको आचार्यले बताउनुभयो ।
उहाँका अनुसार प्याराफिटको ढलानका लागि डण्डी बाध्नेकाम भईरहेको छ । दुईवटै टावरको पिल्लरको काम गरिदैं छ । नालाको ढकनिको काम भईरहेको उहाँले जानकारी दिनुभयो । आचार्यले भन्नुभयो “हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौ ।” बजेटको समस्या नभएमा तोकिएको समयमानै काम हुने उहाँको भनाई छ । हाल सम्म निर्माण कम्पनीलाई रु ६ करोड ६० लाख पेस्कि भूक्तान गरि सकिएको छ ।
महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले रु १० करोड निकाशा गराएको बताउनुभयो । संघिय सरकारले यस वर्ष बिनियोजन गरेको रु २५ करोड आइनसकेको उहाँले बताउनुभयो । सहरी बिकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले छिट्टै वजेट निकासा हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “दुई महिना अघि नै अर्थ मन्त्रालयमा फाइल पुगेको छ । मैले मन्त्री ज्यू र सचिब संग भेटेर कुरा गरिसकेको छु । केही दिनमानै बजेट निकासा हुने आश्वासन पाएको छु ।” प्रदेश र संघिय सरकारबाट वजेट निकाशा समयमानै हुने भनिएकाले वजेटका कारण काम नरोकिने दाहालको भनाई छ ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसंगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको हो । रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै ५ हजार क्षमताको प्याराफिट निर्माण गरि सकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने छ । गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिना भित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मिति भन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको दावि छ । रंगशाला बने संगै अन्तर्राष्ट्रिय स्तरका खेलयहाँ खेल्न सकिने छ ।
प्रमुख दाहालले निकै मेहनत पछि बन्न लागेको रंगशालालाई यथासक्य छिटो निर्माण गरेर प्रतियोगिताहरु संञ्चालन गर्ने महानगरको योजना रहेको बताउनुभयो ।