चितवनः चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काईएका ४१ वटा गोही राप्ती नदीमा छाडिएको छ । एक भाले सहित ती गोही साउन यता तीन पटक गरेर नदीमा छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यो वर्ष थप ६० हाराहारी गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको छ । गत आर्थिक वर्षमा १०५ वटा गोही नदीमा छाडिएको थियो । नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका बच्चालाई नदीहरुमा छोड्ने गरिन्छ ।

हालसम्म राप्ती, नारायणी सहित देशका विभिन्न नदीमा एक हजार ९९८ गोही छाडिसकिएको छ । यद्यपी ती गोही बच्चे दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ वटा गोही भेटिएका थिए । हाल प्रजनन् केन्द्रमा ७५९ वटा गोही रहेका छन् । ती मध्ये १९५ वटा भुरा, ४३२ वटा किशोर अवस्थाका, एक सय वटा अर्धवयस्क र ३२ वटा बयस्क रहेका छन् ।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस !