
चितवनः जिल्लामा गत वर्षको तुलनामा यस वर्ष तोरी लगाईएको क्षेत्रफल वढेको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा तोरी खेतीको क्षेत्रफल वढेको हो ।
जिल्ला कृषि बिकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरी खेतीको क्षेत्रफल ७ देखि ८ प्रतिशत वढेको हो । उहाँले भन्नुभयो “प्रारम्भिक रुपमा हेर्दा क्षेत्रफल वढेको पाईएको छ ।”उहाँका अनुसार पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष तोरी खेतीको क्षेत्रफल बढेको हो ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा १३ हजार ६४२ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा यस वर्ष यो क्षेत्रफल वढेको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । क्षेत्रफल वढे संगै उत्पादन पनि वढ्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १७ हजार ६८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यस वर्ष फल लाग्ने समयमा तोरीमा कुनै रोग र किरा नदेखिएकाले उत्पादन वढ्ने उहाँले बताउनुभयो ।
गत वर्षभन्दा यस वर्ष तोरीको बिउ बढी खपत भएको र कृषकले खाली रहेको जग्गामा पनि तोरी लगाएको हुनाले तोरीखेतीको क्षेत्र बिस्तार भएको पौडेलले बताउनुभयो । आफुहरुले स्थलगत अनुगमनका क्रममा बाँझो जग्गा नदेखेको उहाँले बताउनुभयो । यध्यपि तथ्याङ्कमा कति क्षेत्रफल वढ्यो भन्ने एकिन आई नसकेको उहाँले बताउनुभयो ।
छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँहरुमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षती पु¥याउने भएकाले यस तर्फ किसानहरुको आकर्षण वढेको उहाँले जानकारी दिनुभयो । तोरीखेती प्रवर्धन गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दा तोरी प्रति किसानको आकर्षण वढ्दै गएको पौडेलको भनाई छ । पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती गरिदैं आईएको छ ।