चितवनः जिल्लाका बिभिन्न स्थानमा मोटरसाईकलको स्वरुप परिवर्तन गर्ने र तिब्र गतीमा चर्को आवाज निकाली ध्वनी प्रदुर्षण गर्ने ६३ वटा मोटरसाईकललाई नियन्त्रणमा लिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिभिन्न समयमा गरि ती मोटरसाईकललाई नियन्त्रणमा लिएर कारवाही प्रकृया सुरु गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाई राखेको समयमा ती मोटरसाईकल नियन्त्रणमा लिईएको हो । उहाँका अनुसार विभिन्न समयमा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई कारवाही गरिँदै गरिएकोमा ध्वनि प्रदुषण नघटेको पाइएको हुँदा स्वरुप परिवर्तन अन्तर्गत साईलेन्सर, ह्यन्डिल, सिट लगायतका सामानहरु कम्पनिको वा सवारी दर्ता किताव भन्दा फरक राखि चर्को आवाज निकाल्ने मोटरसाईकल नियन्त्रणमा लिईएको हो । यस्ता मोटरसाईकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो ।
समान्यतया ६० डेसिवल सम्मको आवाजलाई सामान्य मान्ने भए पनि यस्ता मोटरसाईकलले १२० देखि १९० डेसिबल सम्म आवाज निकाल्ने गरेको पाईएको छ । यसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्ने रक्तचाप बढ्ने, थकान महसुस हुने, तत्कालै रिसाउने, झर्किने, कान कम सुन्ने जस्ता समस्याहरु आउन सक्ने कुराहरुलाई मध्यनजर गर्दै ती मोटरसाईकल नियन्त्रणमा लिईएको शर्माले बताउनुभयो ।
यस्तो कार्यमा संलग्नलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम रु १ हजार देखि ५ हजार सम्म जरिवाना र बागमति प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसूरमा दफा १९४ बमोजिम रु ७ हजार देखि रु १५ हजार सम्म जरिवाना हुने शर्माले बताउनुभयो । यस्ता मोटरसाईकललाई पूर्बबत अबस्थामा फर्काएर जरिवाना तिरायर मात्रै छोडीने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !