चितवन, १२ पुस ः लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो ।

शनिबारदेखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) रु ३ हजार ६ सय र मझौलाको रु ३ हजार ५ सय कायम गरिएको छ । योसँगै किसानले लागत मूल्य पाउने भएका हुन् । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलब ५६ पर्न आउँछ । यससँगै खुुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउनेभएका हुन् । उहाँका अनुसार दाउन्ने एग्रोफार्म , हिमचुुली पोल्ट्री , खिलुङकाली (जनकपुर एग्रो ) सुविश पोल्ट्री भिज्जु पोल्ट्री , शिवम् लेयर्स फार्म लगायतले काठमाण्डौको होलसेल बजारमा शनिबारदेखि कायम हुनेगरी ठूलो अण्डा प्रतिपेटी रु. ३ हजार ७ सय ५० देखि रु. ३ हजार ७ सय ८० सम्म र मझौलाको रु. ३ हजार ६ सय ५० देखि रु.३ हजार ६ सय ८० सम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।
पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्यपनि बढेको हो । किसानको फार्ममा बुढो कुखुरा बिक्रीभएसँगै धेरै किसान बिस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश वढ्ने देखिन्छ ।” उहाँले थप्नुभयो, “अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेकोे बताउनुभयो । उहाँले भन्नुभयो , “अण्डा हुनेले अब लागत मूल्य पाउने भएका छन् ।”
नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो । गत वर्षपनि पुस महिनामा चार पटक अण्डाको मूल्य बृद्धि भएको थियो । कँडेलले भन्नुभयो, “अब पनि किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसानपनि बिस्थापति हुन्छन् । ”
–––

प्रतिक्रिया दिनुहोस !