चितवन, ४ पुस । अण्डाको मूल्य लागत नजिक पुगेको छ । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शुक्रबारदेखि लागत मूल्यको हाराहारी पुुग्न लागेको हो ।

शुक्रबारदेखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ५०० र मझौलाको रु ४८५ कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलब ५६ पैंसा पर्न आउँछ । यससँगै खुुद्रा उपभोक्ता प्रतिगोटा २२.५० हुनेछ ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार अण्डको मूल्य लागत नजिक पुगेको हो । पोखरेलका अनुसार जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको मूल्यमा क्रमशः बृद्धि हुँदै गएको छ ।

यस अघि अण्डाको मूल्य उच्च दरमा हुँदा प्रति क्रेट रु ५०५ सम्म पुगेर क्रमशः घटेको थियो । उहाँले भन्नुभयो “अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश वढ्ने देखिन्छ ।” अहिले अण्डाको मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । लागत मूल्य नजिक अण्डा बिक्री गर्न पाएपछि किसान खुसी भएका हुन् । अहिलै दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएको कुखुरापालक किसान त्रिलोचन कँडेलले बताउनुभयो ।

अण्डा फर्मबाट होलसेलर, डिलर, खुद्रा बिक्रेता र उपभोक्तासम्म पुग्दा केही महंगो देखिएपनि फार्म किसानले भने लागत मूल्य नजिक मात्रै मूल्य पाउँछन् । गत वर्षपनि पुस महिनामा चार पटक अण्डाको मूल्य बृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !