चितवनः हरियाली प्रबद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै विरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं. २४ को गुम्बा नजिक सात विगाहा सार्वजनिक जग्गा मध्ये एक विगाहामा नर्सरी बनाउन लागेको हो ।
डिभिजन वन कार्यालय चितवनको प्राविधिक सहयोगमा काम अघि बढाउन लागेको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष रु. एक करोड बजेट समेत विनियोजन गरिएको छ । नर्सरीका लागि कम्पाउण्ड, नर्सरी घरहरु लगायतका भौतिक संरचना निर्माण शुरु गर्न लागिएको छ ।
दाहालका अनुसार एक वर्षमा एक लाख विरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ । बाहिरबाट विरुवा खरिद गर्दा महंगो पर्ने भएकाले आफैले उत्पादन गरेर सडक किनारामा विरुवा रोप्न लागिएको हो । सुन्दरता दिने र फलफूलका विरुवा उत्पादन गरेर रोप्ने योजना रहेको छ ।
उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षहरुबाट महानगरपालिकाले महानगरभित्रका सडकहरुमा वृक्षारोपण गरेर हरियाली बनाउन थालेको बताउनुभयो । आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा रु.एक हजारसम्म पर्ने विरुवा रु. ३०–४० मा तयार हुने उहाँको भनाई छ । अधिकारीले भन्नुभयो “आर्थिक रुपमा पनि महानगरलाई फाईदा पुग्छ ।”
महानगरपालिकाका इञ्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताउनुभयो । सिजनल र बहुवर्षे विरुवाहरु उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ ।”
महानगरपालिकाले गत वर्ष पाँच हजार हाराहारी विरुवा रोपेको थियो । यस वर्ष २० हजार हाराहारी विरुवा खरिद गरेर लगाउँदैछ । आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख विरुवा उत्पादन गरेर रोप्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस !