चितवनः यहाँको व्यवसायीक किट बिकास फर्मले बिगत दुई वर्ष देखि धानको मुल बिउ उत्पादनको काम सुरु गरेको छ । फर्मको नाममा रहेको दुई बिगाहा जग्गामा बिभिन्न जातका धानको बिउ उत्पादन थालेको हो ।
कार्यालयकी प्रमुख पूणीमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबालि अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन् बिउ ल्याएर मुल बिउ उत्पादन सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बिउ उत्पादन गरिएको भए पनि यस वर्ष भने साबित्रिको मुल बिउ उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष ४० क्विन्टल बिउ उत्पादन भए पनि २० क्विन्टल मात्र बिउका लागि प्रयोग भएको थियो । उहाँले भन्नुभयो “नीजि क्षेत्रबाट धानको बिउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो ।” गत वर्ष उत्पादीत बिउ मध्ये २० क्विन्टल बिउका लागि र २० क्विन्टल खाध्यन्नका लागि बिक्रि भएको उहाँले बताउनुभयो ।
क्षेत्रीले थप्नुभयो “मकवानपुर १ जानको धानको बिउको माग आयो तर बहुगुणीको माग आएन ।” अन्न बालिमा धानको बिउ राम्रो उत्पादन गरेर बिक्रि बितरणका लागि तयार पर्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिउ उत्पादनमा सहज र किसानले राम्रो बिउ पाउनसकुन् भन्ने उद्धेश्यका साथ बिउ उत्पादन थालिएको हो । यहाँ उत्पादीत बिउलाई आँफुहरुले सहकारीलाई बिक्रि गरेर एक वर्ष सहकारीले समेत बिउ उत्पादन गरेपछि मात्र किसानकोमा बिउको रुपमा पुग्ने उहाँले जानकारी दिनुभयो । यो वर्ष कार्यालयले ६० क्विन्टल मूल बिउ उत्पादन हुने अनुमान गरिएको छ । यस कार्यालयले अहिले धान संगै च्याउ र मेवाको बिउ तथा बिरुवा उत्पादन गर्न सुरु गरेको छ ।