चितवनः मत्स्य बिकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा ६ करोड ७१ लाख माछाका भुरा बिक्रिका लागि तयार गर्दै छ । कार्यालयले ४ देखि ७ दिनका ६ करोड भुरा, एक महिना सम्मका ६५ लाख र दुई महिना देखि तीन महिनाका ६ लाख माछाका भुरा बिक्रि बितरण गर्ने लक्ष्य लिएको छ ।
केन्द्रका प्रमुख माधब प्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रिका लागि तयारी अबस्थामा रहेका छन् । उहाँले भन्नुभयो “जिल्लामा नीजि क्षेत्रबाट समेत माछाका भुरा बिक्रि बितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको संख्या बढ्दो छ ।” नीजि क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवन सहित नवलपरासी (र्वदघाट सुस्ता पूर्व), नवलपारसी (र्वदघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, कपिलवस्तु देखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो ।
गत वर्ष केन्द्रले ४ देखि ७ दिनका माछाका भुरा ७ करोड, एक महिनाका भुरा १ करोड दुई देखि तीन महिनामा ६ लाख बिक्रि गरेको थियो । अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्रि हुने उहाँले बताउनुभयो । नैनी र रघु जातका ४ देखि ७ दिने भुरालाई एक लाखको रु २ हजारमा र अन्य प्रजातीकालाई रु २ हजार ५ सयमा बिक्रि गर्दै आईएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाका माछाका भुरालाई रु २५ पैसा र दुई देखि तीन महिनाका भुरालाई रु ७५ पैसा प्रतिगोटामा बिक्रि गरिएको उहाँले बताउनुभयो ।
केन्द्रले १५ हेक्टर जलायसमा माछाका भुरा र खान योग्य माछाहरु उत्पादन गरेर बिक्रि गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरेर बिक्रि गर्दै आएको छ । माछाका भुरा बर्ष भरीनै बिक्रि बितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले माछाका भुरा लिन आउनेलाई बर्ष भरीनै बिक्रि बितरण गर्ने गरेका छौ ।” बि. सं. २०२६ सालमा खाने माछा बिक्रि बितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले बि. सं. २०६४ सालबाट भुरा माछा पनि माग अनुसार बिक्रि बितरण गर्न थालेको हो ।
अहिले भुरा माछाको माग वढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार केन्द्रले भुराको माग अनुसार लक्ष्य बढाउदैं लगेको छ । लक्ष्य बढाउँनु पर्ने तर दक्ष कामदारको अभावमा सिमित कादारहरुबाट काम लगाउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्न सके माछाको आयात कम हुने उहाँले जानकारी दिनुभयो ।
केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रि बितरणबाट मात्रै रु ७६ लाख राजस्व संकलन गरेको थियो । अहिले भुराको माग अनुसार राजश्व वढ्ने अनुमान गरिएको उहाँको भनाई छ ।