चितवनः यहाँको समुदाय स्तरको बालकुमारी कलेजले यही मंसिर १ र २ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । “समावेशी र दिगो बिकासको लागि रुपान्तरण, नवप्रवर्तन र डिजिटलाइजेसन” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
कलेजले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । सम्मेलनका संयोजक डा. गुणराज क्षेत्रीका अनुसार सौराहामा आयोजना गर्न लागिएको सम्मेलनमा नेपाल सहित अष्ट्रेलिया, चीन, भारत, भुटान, बंगलादेश, थाईल्याणका अनुसन्धानकर्ताहरु सहभागी हुने छन् । सम्मेलनमा अनुसन्धानकर्ता, बिद्यार्थी सहित एक सय भन्दा बढीको सहभागीता हुने क्षेत्रीले जानकारी दिनुभयो । दुई दिन सम्म चल्ने सो कार्यक्रममा बिभिन्न देशका ५० भन्दा बढि कार्यपत्र प्रस्तुती र छलफल हुने छ ।
सन् २०१० मा पहलिोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ बर्ष पछि अहिले गर्न लागेको हो । कलेजका प्राचार्य जगदिश्वर खनालले हरेक दुई÷दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाका साथ अहिले कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “एक वर्ष राष्ट्रिय सम्मेलन र अर्को बर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने गरी योजना बनाएका छौ ।” आँफुहरुले आयोजना गरेको सम्मेलनले नीति निर्माणकर्ता, बिश्वबिद्यालयहरु, अध्ययनरत बिद्यार्थी, राष्ट्रिय योजना आयोगलाई आगामी कार्यक्रमहरु वनाउनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कलेज संञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस सम्मेलनले आर्थिक समावेशीकरण, स्रोतको दिगो व्यवस्थापन र प्रबिधि बिकासलाई मानब कल्याण र बातावरणीय सन्तुलनमा केन्द्रीत हुने बताउनुभयो । प्रबिधिको रुपान्तरणले समावेशी बिकासमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने बिषयमा विचार बिमर्श हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हरित उर्जा समाधान, ग्रामीण र सीमान्तकृत समुदायहरुलाई डिजिटल पहुँचको बृद्धि, शिक्षा, स्वास्थ्य र सार्वजनिक शासनमा रुपान्तरणकारी नीतिहरु लगाएतका बिबिध बिषयहरुमा बिचार बिमर्श हुने छ ।”
–––