चितवनः जाडो मौषम सुरु भए संगै बिभिन्न देशहरुबाट जाडो छल्नका लागि चराहरु आउने क्रम सुरु भएको छ । चितवनका तीनवटा नदीहरुमा कम्वोडीया, तिब्बत, साइवेरीया, रुस लगाएतका देशहरुबाट चराहरु यहाँ आएका हुन् ।
नेपाल पन्छी बिध संघ बागमती प्रदेशका संयोजक बासु बिडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चराहरु आएका छन् । उहाँले भन्नुभयो “अहिले नदी किनारहरुमा आगन्तुक चारहरु देख्न थालिएको छ । यो संगै चारा हेर्नका लागि आउने पर्यटकहरु समेत आइरहेका छन् ।” चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगाएतका चराहरु आएको उहाँले बताउनुभयो । नेपालमा आउने पर्यटक मध्ये ४ प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उहाँको भनाई छ ।

बिभिन्न देशमा जाडो वढे संगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकीने हुँदा आहाराको खोजीमा चराहरु आउने गरेको उहाँले जानकारी दिनुभयो । यो समयमा १५० देखि १६० प्रजातीका चारहरु यहाँ आउने गरेको उहाँको भनाई छ । बिडारीले भन्नुभयो “अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौषम सुरु भए संगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोसी टापु देखि कर्णाली सम्म पानीमा आश्रीत चराहरु नेपाल आउने गरेको उहाँले जानकारी दिनुभयो । अहिले हाँस प्रजातिका चराहरु आइसकेको बताउँदै उहाँले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !