प्रस्ताब सुवेदी
चितवनः जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले हर्मोन बिज्ञ चिकित्सक नहुँदा परामर्श बिनानै औषधि सेवन गर्ने गरेका छन् । जसका कारण उनीहरुको स्वास्थ्यमा समस्या हुने गरेको गुनासो बढ्न थालेको छ ।
परलैंगिक महिला सुनिता लामा बिगत १८ वर्ष देखि हर्मोनको प्रयोग गर्दै आउनु भयो । तर अहिले उहाँले यसको प्रयोग छोड्नु भएको छ । पहिला काठमाडौंमा बस्दा हर्मोनको प्रयोग गरेको भए पनि चितवन आईसके पछि चिकित्सकको परामर्श पाउन किठन हुने र जुन पायो त्यही हर्मोनको प्रयोगले स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँले प्रयोग गर्न छोड्नु भएको हो । नवलपरासी (बर्दघाट–सुस्ता पूर्ब) गैंडाकोट बस्दै आउनुभएकी ४२ बर्षिय लामा स्वासप्रश्वासमा समस्या, शारिरिक शिथिलता र मानसिक रुपमा समस्या आउन थालेपछि हर्मोनको प्रयोग छोडेको बताउनुहुन्छ ।
हेर्दा महिला देखिने उहाँको बाल्यकाल केटा भएर बिते पनि उहाँले बिभिन्न हर्मोनको प्रयोग गर्दै जाँदा अहिले महिला बन्नु भएको छ । उहाँले भन्नुभयो “चिकित्सकको परामर्श बिना ओके प्लिज, सुनौलो गुलाब, डइना जस्ता हर्मोनको प्रयोग गरियो ।” काठमाडौंमा हर्मोन बिशेषज्ञ भएपनि चितवनमा आँफुहरुलाई जानकारी नभएको उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो “बिशेषज्ञ चिकित्सक भए पनि परामर्श लिन जान आँफुहरुलाई कठिन हुने अबस्था रहेको छ ।” जसका कारण ७५ प्रतिशत परलैंगिक महिला तथा पुरुषहरुले साथिहरुको लहैलहैमा हर्मोनको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । कतिपय साथिहरुहरुले थाइल्याण्डबाट समेत हर्मोन मगाएर प्रयोग गर्ने गरेको उहाँले सुनाउनुभयो ।
यस्तै तनहुँकी ३९ बर्षिया परलैंगिक महिला नबिना गुरुङ आँफु छोरो भएर जन्मिए पनि छोरी वन्न मन लागेर हर्मनको प्रयोग गरेको बताउनुहुन्छ । काठमाडौंबाट साथिहरुको सल्लाहामा हर्मोनको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “छालामा चमक ल्याउन, नसा लुकाउन, स्तन बढाउन, स्वर परिवर्तन गर्न हर्मोनको प्रयोग गर्दै आएको छु ।” खाने मात्रै नभएर सिरिन्जबाट समेत हर्मोन दिनुपर्ने अबस्था हुने उहाँले बताउनुभयो । बिज्ञ चिकित्सकको परामर्श बिना साथिहरुको सल्लाहामा प्रयोग गरेको हर्मोनका कारण शरिर गल्ने, रिस उठ्ने, मान्छेको स्वभावमा परिवर्तन आउने गर्दछ । थाइल्याण्डबाट ल्याएको हर्मनले केही सम्ममा राम्रो गर्ने भए पनि चिकित्सकको परामर्श बिना हर्मोन प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको उहाँले बताउनुभयो ।
यौनीक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्दै आएको मानब सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठले चिकित्सकको परामर्श अनुसार हर्मोनको प्रयोग गर्नुपर्ने भए पनि जिल्लामा हर्मोनको बिज्ञ चिकित्सक नहुँदा समस्या भएको बताउनुभयो । काठमाडौं गएर परिक्षण गर्नुपर्ने भएका अधिकांशले चिकित्सकको परामर्श बेगर नै यसको सेवन गर्ने गर्दा शारिरिक तथा मानसिक समस्या हुने गरेको उहाँले बताउनुभयो । खुलेर आएका परलैंगिक पुरुष तथा महिलाहरुले हर्मोनको प्रयोग गर्ने गर्दा कतिपयलाई छुट्याउन समेत मुसिकल पर्ने गरेको उहाँको भनाई छ ।