चितवनः पश्चिम चितवनको चनौली बजारमा रहेको मालपोत कार्यालय भाडाको घरमा रहेको छ । जसको घरमा कार्यालय भाडामा बसेको छ उनै घरभेटीले निःशुल्क तीन कठ्ठा जग्गा दिन्छु भनेर पनि दिन पाएका छैनन् ।
भरतपुर महानगरपालिका वडा नं. २०, चनौलीका महेन्द्रराज श्रेष्ठले बि.सं. २०७६ सालमा आफ्नै घरमा भाडामा बसेको कार्यालयलाई जग्गा निःशुल्क दिने घोषणा गर्नुभएको थियो । घोषणापछि उहाँले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै भूमिसुधार मन्त्रालयसम्म जग्गा लिईदिन आग्रह गर्नुभयो ।
चनौली बजार नजिकैको उहाँको जमिन मालपोत कार्यालयलाई निःशुल्क दिन श्रेष्ठ लागि पर्नुभएको छ । उहाँले भन्नुभयो “भाडा तिरेर बसेको मालपोत र नापी कार्यालयलाई जमिन दिन्छु भन्दा पनि सकिन ।”
वि.सं. २०७६ सालको फागुन १७ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले उक्त जग्गा यी कार्यालयहरू राख्न उपयुक्त रहेको निष्कर्ष निकाल्दै जग्गा प्राप्तिको प्रक्रियाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखि पठाउने निर्णय गरेको श्रेष्ठ बताउनुहुन्छ ।
मालपोत अधिकृत, नापी अधिकृत, भरतपुर महानगरपालिकाको वडा नम्बर २० का सचिव समेत सहभागी बैठकले गरेको निर्णयसहितको जग्गाको कागजपत्रहरू मन्त्रालय र विभागमा पुगेको श्रेष्ठको भनाई छ । अहिलेसम्म उक्त जग्गा मालपोत र नापी कार्यालयले स्वीकार गरेका छैनन् ।
साँघुरो ठाउँमा कार्यालय बसिरहेको छ । कार्यालयका प्रमुख हिम तिमिल्सिना आफू भर्खरै आएको र बुझ्ने क्रम जारी रहेको बताउनुहुन्छ । श्रेष्ठले दिन चाहेको जमिन केही अपुग हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “थप बुझ्न पाएको छैन, अब मालपोत र नापी एकै ठाउँमा बस्नुपर्छ, सोही अनुसारको जग्गा चाहिन्छ ।” दुवै कार्यालय गरी करिब पाँच÷छ कठ्ठा जमिन आवश्यक पर्ने उहाँको भनाई छ । यद्यपी अहिले भाडामा बसिरहेको र दाता समेत भेटिएकाले यसको निर्णय छिटो गर्नुपर्ने उहाँले बताउनुभयो ।
श्रेष्ठ पत्रकारिता, राजनीति र सामाजिक रुपमा परिचित व्यक्ति हुनुहुन्छ । उहाँको बुबा बाबुराम श्रेष्ठ सामाजिक रुपमा परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपाल रेडक्रस सोसाईटी चनौली उपशाखालाई अहिले रु.१ करोडभन्दा बढी पर्ने एक कठ्ठा जमिन, ओम शान्तिलाई रु.६० लाखभन्दा बढी पर्ने १० धुर जमिन र भीमनगर माध्यमिक विद्यालयलाई रु.६० लाख बढी पर्ने १५.५ हात जमिन दिनु भएको छोरा श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी बजार समिति चनौलीलाई रु.५४ लाख बढी पर्ने १२.५ हात, नेवा गुठीलाई रु.३६ लाख बढी पर्ने २० हात र नेपाली कांग्रेसको क्षेत्रीय समितिलाई रु.५० लाख बढी पर्ने १२ धुर जमिन दिएको उहाँको भनाई छ ।
बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठका पति महेन्द्रराज श्रेष्ठको परिवार राजनीतिक रुपमा पार्टी सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष जोडिएको छ । देउवा, नेता प्रकाशशरण महत लगायतका शीर्ष नेता जिल्ला आउँदा बस्ने घरका रुपमा श्रेष्ठ परिवार चिनिन्छ । यद्यपी सरकारलाई जग्गा दिन धाएको पाँच वर्ष हुँदा पनि नसकेकोमा श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो ।