चितवनः जिल्लामा आलुका जातहरुको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि बिकास कार्यालय चितवनले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परिक्षण तथा प्रविधि अनुसरण कार्यक्रम अन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो ।
कार्यालयकी सूचना अधिकारी सूरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रमहरु गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन मुलक कार्यक्रम गरिएको हो । बिभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अध्ययन सुरु गरिएका आलुमा ० दशमलब ५२, २५ दशमलब ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटर लगाएतका जातको अध्ययन परिक्षण थालिएको हो । यस्तै फ्राइसोना, सन्ताना र स्थानीय निलो जातको आलुको अध्ययन गर्न लागिएको त्रिपाठीले बताउनुभयो ।
उहाँका अनुसार अहिले जातिय परिक्षण तथा औद्योगीक आलुको बारेमा अध्ययन सुरु गरिएको छ ।” औद्योगीक आलुका रुपमा फ्रेन्चफ्राई, चिप्स जस्ता बस्ुत उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिदैंन भन्ने अध्ययन थालिएको हो । एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो । खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारिमा आलु लगाई सकीएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । किसानल परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परिक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्रि बितरणमा सहजता लगाएतका बिषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढि प्रतिफल लिन सकिन्छ भन्ने बिषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताउनुयो । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन वढाएर व्यवसायीक आलु खेतीमा कृषकलाई लगाउन मद्धत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कंडेलले बताउनुभयो । उहाँले भन्नुभयो “आलु खेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।”जिल्लामा गत आर्थिक वर्षमा १ हजार ९९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । जसबाट ४९ हजार ६७६ मेट्रिकटन आलु उत्पादन भएको उहाँले जानकारी दिनुभयो । क्षेत्रफल र उत्पादन वढाउन यो प्रयोग फलदायी हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !