चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा अध्ययनका लागि कोटा थप गरिएको छ । विश्वविद्यालयले ५० कोटा थप गरेको हो ।
सो संकायमा ५० जना मात्रै विद्यार्थी भर्ना गर्दै आएकोमा यही शैक्षिक सत्रदेखि एक सय जना विद्यार्थी भर्ना हुन पाउने भएका छन् । संकायका डीन प्रा.डा. होमबहादुर बस्नेतका अनुसार नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता लिएर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरिएको छ ।
संकायले कात्तिक १३ गते सूचना प्रकाशित गरी आगामी मंसिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीले विभिन्न कोटामा आवेदन दिन सक्ने जनाएको छ । विश्वविद्यालयले साविक ५० कोटामा मेरिटका आधारमा २०, प्रादेशिक ७, छात्रा २, दलित, आदिवासी जनजाति, मधेशी, द्वन्द्वपीडित र शहीद परिवार, अपाङ्ग, स्टार्फकोटा पूर्ण छात्रवृत्तिम, स्टाफ कोठा सहुलियत शुल्कमा एक÷एक जना, स्थानीय कोटा २ सहित शुल्क लिएर १४ जना विद्यार्थी भर्ना लिदै आएको थियो ।
विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले ५ वर्षको रु.६ लाख बुझाउनुपर्छ । अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले ५ वर्षे कोर्षको रु.१२ लाख रकम बुझाउनुपर्ने डीन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “थप कोटाका विद्यार्थीले किस्ताबन्दीमा तिर्नुपर्ने व्यवस्था गरिएको छ ।”
काउन्सिलले मान्यता दिएका साविक ५० कोटाको विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने छ । सोही संकायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ ।
मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले रु.३ लाख १० हजार बुझाउनुपर्छ ।