चितवनः भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन शुरु गरेपछि घरधनी आफैले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेपछि अतिक्रमण गरी निर्माण गरेको संरचना घरधनीले आफै भत्काउन सुरु गरेका हुन् ।
असोज २ गते महानगरपालिकाले केही संरचनाहरुमा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाईएका संरचना घरधनी आफैले भत्काउन थालेको बताउनुहुन्छ । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाईएका संरचना घरधनीले आफैले भत्काईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “सुरु सुरुमा संरचना भत्काउन ढिलाई गरेपनि डोजरले केही संरचना भत्काएपछि घरधनीहरुले आफै भत्काउन थाल्नुभएको छ ।” खोलाको मापदण्ड भित्र लायन्स क्लबको भवनदेखि निजी घर टहराहरु परेका छन् । लायन्स क्लबको बहुतले भवन, दियालो फुडल्याण्ड पार्टी प्यालेस सहित निजी घरधनीले थप संरचना नबिग्रने गरी भत्काउन थालेका छन् । लायन्स क्लबको भवन पुरै भत्काउँदै छ भने अन्य संरचना मापदण्ड भित्र पर्ने मात्र भत्काएर व्यवस्थित गरिदैं गरेको रानाभाटले जानकारी दिनुभयो ।
महानगरले डोजर चलाउँदा धनजनको क्षति हुने हुँदा थप क्षती नहुने गरी घरधनीले आफै भत्काएका हुन् । कतिपयले महानगरपालिकासँग समय माग गरेर जोडिएका अरु संरचना नबिग्रने गरी भत्काउन थालेका छन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुङ्गी खोलाको मापदण्ड भित्र रहेका संरचना घरधनी आफैले भत्काउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ । यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।”

पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट रु ६ करोड ६५ लाख बजेट बिनियोजन भएको छ । संरचना भत्काएर ठाउँ खाली भएसँगै आयोजनाले बोलपत्र आव्हान गरेर काम अघि वढाउँदै छ । महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काएर सोही ठाउँमा सौन्दर्यकरणको कार्य पनि अघि बढाउन लागेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

बाईपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलब ५ किलोमिटर लामो छ । जस मध्ये बाइपासबाट लायन्सचोकसम्म वडा नम्बर २ भित्र ३ किलोमिटर हाराहारी पर्दछ । त्यहाँबाट नारायणीसम्म वडा नम्बर ३ र ४ पर्दछ । सो क्षेत्रमा पनि सौन्दर्यकरण र व्यवस्थित गर्ने काम गत वर्षबाट भईरहेको वडा नं. ३ का अध्यक्ष विकास थापाले बताउनुभयो ।

वडा अध्यक्ष थापाका अनुसार यो खोला चार मिटरदेखि ६० मिटरसम्म फराकिलो रहेको छ । मुख्य बजारी क्षेत्र हुँदै वग्ने खोलालाई व्यवस्थित गरेर उद्यान, खुल्ला जीम, पैदलमार्ग, पार्क जस्ता संरचना वनाएर सौन्दर्यकरण गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !