चितवनः बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामा तामाङ्ले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने बताउनुभएको छ । रंगशालाको आज यहाँ निरिक्षण अनुगमन पछि सञ्चार कर्मीहरुसंग प्रतिकृया दिदैं उहाँले रंगशाला निर्माणको काम तिब्र गतिमा भइरहेकाले वजेट निकासाका लागि कुनै समस्या नहुने बताउनुभएको हो ।
प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रंगशाला निर्माण सुरु गरिएको भन्दै उहाँले हरेक वर्ष रंगशालालाई प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्ने बताउनुभयो । बहुबर्षिय योजनाहरुलाई उच्च प्रथामिकतामा राखेर आबश्यक वजेट बिनियोजन गरीने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हाम्रो चलन के छ भने बहुबर्षिय योजना बनाउने सुरुवातमा केही वजेट दिने अर्को बर्ष थोरै थोरै बजेट बिनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी ३ वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट बिनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने बिधिलाई समेत परिमार्जन गर्ने गरिएको उहाँले बताउनुभयो ।
पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उहाँको भनाई थियो । नेपालका योजनाहरु अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताउनुभयो । यो नमुना परियोजनाको रुपमा काम भईरहेको उहाँले बताउनुभयो । कामको बातावरण निर्माण गर्न महानगरपालिकाले केही कसुर बाँकी नराख्ने उहाँको भनाई थियो ।
गत असार २३ गते रंगशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रकृया अघि वढेको हो । महानगरपालिकाका डिभिजन इन्जीनियर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिन्चोक बिबिआर जेभि बिच दुई पक्षिय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षिय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौता पछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उहाँले बताउनुभयो । एउटा टावरमा ग्राउण्ड निर्माणको काम भईरहेको छ भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भईरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उहाँले बताउनुभयो ।
रंगशाला निरिक्षणमा बागमती प्रदेश सभा सदस्य गिता गुरुङ्, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !