नारायणगढः मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनको लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायहरुसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको हुँदा देशको विभन्न क्षेत्रमा चरनको लागि मौरी लैजान पर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बझाईका कारण समस्याहरु उत्पन्न हुने गरेकोले कार्यलयले यसका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाल निकायहरुसँग अनुरोध गरेको हो ।

कार्यलयका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सुजन अंगाईले हाल मौरीपालकहरुले एपिस मेलिफेरा जातको मौरीलाई विभिन्न जिल्लामा चरनमा लैजाने समय आएको बताउनुभयो । उहाँल मौरीले बोटविरुवामा परागसेचन गर्न सहयोग गर्ने भएकाले बाली तथा बोटविरुवाको वंश संरक्षणमा समेत भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य देशहरुमा बिरुवाहरुको फूल खेल्ने समयमा मौरीलाई भाडामा ल्याएर चराइन्छ तर यहाँ मौरीपालक किसानहरुले उल्टो पैसा तिरेर चराउन लैजादापनि समस्याहरु आउने गरेको किसानहरुको गुनासो हुन्छ । यो कुरा सबैले बुझ्न जरुरी हुन्छ की मौरी चराउँदा बिरुवाको उत्पादनमा बृद्घी हुन्छ यसले कुनैपनि हानी गर्दैन ।” मौरीहरू बिभिन्न प्रकारका फूल फुल्ने बिरुवाहरूमा भ्रमण गर्दा जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम हुने, धेरै बिरुवा प्रजातिहरूको परागसेचनमा योगदान पु¥याई बोटविरुवाहरुको वंश संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।
बिभिन्न फूल फुल्ने वोटविरुवामा खेर जाने पुष्परस र परागलाई मौरीले संकलन गरी मह र कुट बनाउने गर्छ । परागसेचनमा विभिन्न परागसेची जीवहरु मध्ये ७० देखी ८० प्रतिशत कीरा वर्गको भुमिका हुन्छ । त्यसमध्ये मौरीको मात्र योगदान ८०% रहेको उहाँले जानकारी दिनुभयो । धेरै बालीहरू परागसेचनमा निर्भर हुने हुँदा मौरीको सँख्यामा कमी भएमा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न सक्छ भने प्रमुख अंगाईले बताउनुभयो ।

लामो समयदेखि मौरी पालन गर्दै आउनुभएका कालिका नगरपालिका–६ का मौरी पालक किसान शिवप्रसाद शर्मा पौडेलले मौरी पालन गर्दा चरनको निकै समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयोे ।“ मौरीलाई चराउन देशको धेरै स्थानमा डुलाउनुपर्छ । विभिन्न स्थानमा लैजाँदा दुख झेल्न पर्छ । के लेर आइस भनेर हैरान गर्ने गर्दछन् । विभिन्न स्थानीय तह, टोल र घरमा समेतसमन्वय गर्नुपर्नेहुँदा निकै झन्झटीलो हुन्छ ।” व्यवसायिक मौरीको संख्या बढी हुँदा चरन क्षेत्रको अभाव पनि हुने गरेको उहाँले बताउनुभयो । चरनको लागि नयाँ स्थान खोज्न पर्ने अवस्था आएको उहाँको भनाई छ । नेपाल मौरी पालन महासंघको निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले महको मूल्य राम्रोे रहेको तर बिचौलियाहरुले किसानहरुबाट सस्तोमा खरिद गरी महंगोमा बेच्ने गरेको गुनासो समेत गुर्नुभयो ।

हाल चितवनमा करिब ५ सय ५० मौरी पालक कृषकहरुले २० हजार भन्दा बढी घारमा मोरी पालन गर्दै आएका छन् । यहाँका किसानहरुले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलबस्तु रुपन्देही, नवलपरासी, रौतहट मकवानपुर, सर्लाही, महोत्तरीलगायतका जिल्लाहरुमा मौरी चराउन लाने गर्दछन् । जिल्लामा वार्षिक रुपमा ९ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको कार्यलयका प्रमुख अंगाईले जानकारी दिनुभयो । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरि २ जातका मौरीको व्यवसायिक रुपमा पालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !