चितवनः त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या दोब्बर बृद्धि भएको छ । बि.सं. २०७७ सालमा ३ हजार ४ सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो संख्या ७ हजार माथि पुगेको छ ।
क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । उहाँले भन्नुभयो “म क्याम्पस प्रमुख भएर आउँदा २०७७ सालमा ३ हजार ४ सय विद्यार्थी थिए, अहिलेसम्म आईपुग्दा ७ हजार माथि पुगेका छन् ।”
क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकायको स्नातक र स्नातकोत्तर तहमा पढाई हुँदै आएको छ । स्नातकमा व्यवस्थापनतर्फ बिबिए र बिबिएसको पढाई हुने गर्दछ । विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएसआईटी, बिआईटी, बिएस्सी जुओलजी र माईक्रोबायोलोजीको पढाई हुने गरेको छ ।
शिक्षा तर्फ बिएस र बिआईसिटिई विषयको पढाई हुने गर्दछ । मानविकीतर्फ बिएको पढाई हुने गर्दछ ।स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्रि, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसंख्या शिक्षाको पढाई हुँदै आएको छ ।
यसै वर्षबाट एमसिए र एमएडको पढाई सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाई थालेपछि पहिलो रोजाई बन्न सकेको हो । क्याम्पस प्रमुख पौडेलले भन्नुभयो “शुल्क कम र गुणस्तरीय पढाई हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।”
क्याम्पसमा २८ जना विद्यावारिधि गरेका र १५ जना एमफिल गरेका प्राध्यापकहरु छन् । कूल संख्या २२४ रहेको थियो । जसमध्ये १०४ जना त्रिविका हुन् भने अन्य आन्तरिक स्रोतबाट व्यवस्थापन गरिंदै आएको छ । बि.सं. २०२२ साल वैशाख १५ गते यो क्याम्पस स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस !