चितवनः पछिल्ला वर्षहरुमा कक्षा १२ उतीर्ण पछि बिद्यार्थीहरु थप शिक्षा र रोजगारीका लागि बिदेश जाने क्रम बढ्दो छ । बिद्यार्थीलाई यही रोक्नका लागि बिश्वबिद्यालयहरुले पुराना पाठ्यक्रमहरुलाई परिमार्जन गरी समय सुहाउँदो बनाउन थालेका छन् ।
पोखरा बिश्वबिद्यालयको बिज्ञान तथा प्रबिधि संकायका डिन प्रा. राजेश कुमार ठगुराठी बिश्वबिद्यालयले बिद्यार्थीको आकर्षण वढाउने गरी पाठ्यक्रम परिमार्जन गरेको बताउनुहुन्छ । युनाइटेट टेक्नीकल कलेज भरतपुरले आज यहाँ आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अबसरमा बोल्दै उहाँले भन्नुभयो “पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरे अनुसारको बनाएका छौ ।” सैद्धान्तीक ज्ञान मात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिईएको ठगुराठीको भनाई छ । पहिले पहिले इन्टनसिप नहुने गरेकोमा इन्जीनियरीङ् संकायमा तीन महिनाको अनिवार्य इन्टनसिप गराएको उहाँको भनाई छ । डिन ठकुराठीले भन्नुभयो “सिपमुलक पाठ्यक्रम बनाएका छौ ।” स्नातक तहमा क्याम्पसहरुलाई आँफुलाई चाहिने बिद्यार्थी भर्ना गर्न पाउने व्यवस्था बिश्वबिद्यालयले गरेको छ । छात्रबृत्ति अन्य बिव्बिद्यालयको तुलनामा आँफुहरुले बढी दिएको डिन ठकुराठीले जानकारी दिनुभयो ।
बिश्वबिद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जना भन्दा बढी बिद्यार्थीलाई छात्रबृत्ति दिएको बताउनुभयो । आंगिक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रबृत्ति दिने गरेको उहाँले जानकारी दिनुभयो । बिश्वबिद्यालयमा ५८ वटा सम्बन्धन प्राप्त, आंगिक ४ वटा र संयुक्त आंगिक ३ वटा कलेज रहेका छन् । बिज्ञान तथा प्रबिधि संकायमा २० वटा क्याम्पस रहेका छन् । ती मध्ये एउटा आंगिक, एउटा संयुक्त आंगिक र १८ वटा सम्बन्धन प्राप्त छन् । डिन ठगुराठीले सबै कलेजले बिद्यार्थी कोटा अनुसार पु¥याउन नसकेको बताउनुभयो । सो अबसरमा उहाँले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिदैं यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिक सत्रबाट ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताउनुभयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताउनुभयो । सोही अबसरमा ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरिएको थियो । कार्यक्रममा क्याम्पस संञ्चालक समितिका अध्यक्ष चुडामणी खनालले हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको बताउनुभयो ।
कलेजबाट हालसम्म ५९६ जना इन्जिनियर उत्पादन भएको अध्यक्ष खनालको भनाई थियो । सो अबसरमा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवम् आईटी विज्ञ प्रा.डा. सुवर्ण शाक्य, पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा. प्रदीप श्रेष्ठ, जर्नलका प्रधान सम्पादक डा. अन्जय कुमार मिश्र, कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाल लगाएतले कलेज, नयाँ कार्यक्रम र जर्नलका बारेमा प्रकाश पार्नुभएको थियो । यो चितवनको पहिलो इन्जिनियरीङ् कलेज हो ।

प्रतिक्रिया दिनुहोस !