चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक साता भित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिन्चोक बिबिआर जेभिले  संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एकसाता भित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत संकलनको काम आजबाटै सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी सहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेसनले निर्माणका ल्यागि ल्याएको सामानको मुचुल्का तयार गरेर सके लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आईतबारबाट सरसफाई लगायतका कामहरु सुरु हुन्छन् ।”

रंगशाला निर्माण स्थलमा रहेको झाँडी पन्छाउने, सरसफाई गरेर कामलाई तीब्रता दिईने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेसनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नु पर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राबिधिक टोली सहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो ।

रंगशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनी बीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता भएको छ ।

धुर्मुश–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशाला ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमन पछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरी ठेकेदार कम्पनीले कामलाई अघि वढाएको बताउनुभयो । उहाँले भन्नुभयो “निर्माणको वातावरण बनाई दिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रंगशाला समयमानै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु गराईने उहाँले बताउनुभयो ।

कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुईवटा टावर बिल्डिङ् र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्ने छ । निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशालाको सबै काम पूरा गर्न रु ३ अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामुहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । त्रिभुवन विश्वविद्यालय सँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रंगशाला निर्माण अघि बढाईएको हो । रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० विगाह ६ कठ्ठा जग्गा बन्ने छ ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !