चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यवसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।
निर्देशनालयका निर्देशक डा.ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याईने छ । शुरुमा आयोगले रु.२ करोड उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । कट्टेलका अनुसार स्नातक वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ । सो समूहलाई प्रस्तावका आधारमा रु.२० देखि ४० लाख रकम तीन वर्षका लागि विना व्याजमा उपलब्ध गराईने छ ।
निर्देशनालयले साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । शुरुमा चार÷पाँच वटा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । समूह छनोट भएसँगै उनीहरुलाई तालिम दिएर काम अघि बढाईने छ । समूहहरुले रकम फिर्ता गर्न थालेपछि सो रकम र अरु थप रकम गरी समूहको संख्या थपिंदै लगिने छ ।
कृषि, पशु, भेटेनरी, माछा, लगायतको उत्पादन र बजारीकरण सम्बन्धी प्रस्तावहरु आव्हान गरिने छ । बिउ उत्पादन, विरुवा उत्पादन, किरा मार्न उत्पादन हुने किरा, हाईटेक नर्सरी जस्ता परियोजनामा लगानी गरिंदै छ । विश्वविद्यालय स्थापना हुँदै गर्दा पठनपाठनसँगै अनुसन्धान र प्रसारको काम समेत गर्ने उल्लेख भएकाले सोही अनुरुप यो कार्यक्रम अघि बढाईएको कट्टेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई व्यवसायिक रुपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । १५ वर्ष अघि स्थापना भएको यस विश्वविद्यालयमा चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।