
चितवनः बढ्दो गर्मीका कारण बिद्यालय आयका बिद्यार्थीहरु बिरामी हुन थालेपछि रत्ननगर नगरपालिकाले बिद्यालयहरु वन्द गरेको छ । नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै वढ्दो गर्मीका कारण बिद्यालय आएका बिद्यार्थी बिरामी हुन थाले पछि आज देखि जेठ १८ गते सम्मका लागि बिद्यालय वन्द गरेको हो ।
शाखाका प्रमुख नारायण प्रसाद वाग्लेका अनुसार १९ गते शनीवार परेकाले २० गतेबाट मात्रै बिद्यालयहरु नियमित संञ्चालनमा आउने छन् । अत्याधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीहरु गर्मीका कारण बेहोस हुने समस्या आएपछि विद्यालयमा विदा दिईएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आएको गुनासो आउन थाले पछि बर्खे बिदावाट सट्टा बिदा गरि बिद्यालयहरु केही दिनका लागि वन्द गरिएको हो ।
यस पालिकामा २७ वटा सामुदायीक, २३ वटा संस्थागत बिद्यालय रहेका छन् । जहाँ २६ हजार बिद्यार्थी अध्ययन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । बिद्यालयहरु वन्द भए संगै खोप कार्यक्रम पनि पछाडी सारिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले खोप कार्यक्रमलाई २० गतेबाट निरन्तरता दिईने बताउनुभयो । देशैभरी पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान सुरु भएको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने कार्यक्रम रहेको छ ।