
चितवन, चैत १५- आजदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनका करिब ११ हजार विद्यार्थी सहभागी भएका छन् । ।
एसईई परीक्षा शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न चितवनमा ६३० सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । एसईई परीक्षाका लागि जिल्लामा ४२ वटा केन्द्र तोकिएको छ ।
शिक्षा विकास समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा २२, रत्ननगर नगरपालिकामा सात, खैरहनी नगरपालिकामा चार, माडी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा तीन र कालिका नगरपालिकामा दुई र इच्छाकामना गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र छन् ।
चितवनका २३४ वटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने छन् । जसमा सामुदायिक विद्यालयतर्फ १०८ र संस्थागततर्फ ११८ विद्यालय छन् ।
यसपटक प्राविधिक धारतर्फका सात वटा विद्यालयका विद्यार्थी एसर्इई परीक्षामा सहभागी हुँदै छन् । त्यस्तै, सातवटा संस्कृत विद्यालयबाट ४७ जना विद्यार्थीहरुले पनि एसर्इईमा सहभागिता जनाएका छन् ।