चितवनः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी बिद्यालय स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सहभागी थिए ।
प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पारेको हो । निर्धारित २० ओभर खेल्दै अर्किडले ६ विकेटको क्षतीमा १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोड्न सफल भएको थियो ।
प्रतियोगिताको समापन गर्दै महानगर प्रमुख रेनु दाहालले रंगशालन निर्माण गर्ने आफ्नो लक्ष्य पुरा हुने क्रममा रहेको बताउनुभयो । प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र २ वर्ष ६ महिना भित्र निर्माणको कार्य पुरा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ। सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।”
उहाँले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताउनुभयो । महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उहाँको भनाई थियो ।
सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा आफ्नो रहेको उहाँले बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।






