
चितवनः भरतपुरको मुख्य शहरी क्षेत्रको केन्द्रमा रहेको जिल्लाको पहिलो चितवन माध्यमिक विद्यालय यतिबेला शहरी विपन्नको शिक्षालय बनेको छ । झ्ट्ट हेर्दा निजी शिक्षालय जस्तो देखिने सरकारी यो विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ पढ्न आउने धेरै विद्यार्थी विपन्न परिवारका छन् । त्यसो त जिल्लाको ग्रामीण र बाहिरी जिल्लाबाट शहरमा अवसरको खोजीमा आएका कामदारदेखि कार्यालय सरुवा भएर आउने कर्मचारीको समेत बालबालिका यस विद्यालयमा अध्ययन गर्दछन् ।
जिल्लाको यो पहिलो विद्यालय विभिन्न ठाउँ सर्दै भरतपुर महानगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गसँगै आएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ४० प्रतिशत रोजगारीको शिलशिलामा आएका परिवारका सदस्य रहेका छन् भने यी सहित ८० प्रतिशत विद्यार्थी विपन्न परिवारका छन् । सात दशक पार गरेको यस विद्यालयले उतारचढाव हुँदै पछिल्ला वर्षहरुमा गति समातेको छ । त्यसो त आर्थिक हिसाबले सम्पन्न विद्यालयको रुपमा यो परिचित छ । सरकारी विद्यालय भएकाले निःशुल्क शिक्षा र शैक्षिक गुणस्तर बृद्धि गर्दै जानुले यस विद्यालयमा बिपन्न परिवारका विद्यार्थीहरुको आकर्षण वढेको हो । गत वर्षको एसईईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालय कक्षा १२ को परिक्षामा जिल्लाको सर्वोत्कृष्ट वन्न सफल भएको थियो ।
सरकारी विद्यालयमा बिना शुल्क उत्कृष्ट शिक्षा दिने विद्यालय चितवन मावि बनेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो “अन्य सामुदायीक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गरेको भए पनि यस विद्यालयले निःशुल्क शिक्षा उपलव्ध गराउँदै आएको छ ।” शिक्षा क्षेत्रमा अनुभव हाँसिल गर्नुभएका अधिकारीले विगत झण्डै तीन वर्षदेखि यस विद्यालयको नेतृत्व सम्हाल्दै आउनु भएको छ । आफूहरु आएसँगै भौतिक निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसि क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रध्यानाध्यापक चिरञ्जीवि शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने बिपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोसाकदेखि न्यानो कपडा समेत विद्यालयले उपलव्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो “कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छांै ।”
यस विद्यालयमा अहिले आधारभूत विद्यालय तर्फ ४५७ र माध्यामिक विद्यालय तर्फ २८५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै सुस्त श्रवण इकाईमा २६ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयले तत्कालिन समयमा धेरै जग्गा जोगाएर राखेका कारण आज त्यसको भाडाले विद्यालयले राम्रो आम्दानी गरेको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्क रुपमा उपलब्ध गराउन सकेको छ । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुँदै आएको छ ।