चितवन: स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मंसिर ७, ८ र ९ गते हुन लागेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलो पटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा.ऋषिराम कट्टेलका अनुसार सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वन मन्त्री, कृषि मन्त्री, शिक्षा मन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिहरुको उपस्थिति रहने छ । कृषि विश्वविद्यालयका पूर्व उपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने छ ।

यसैगरी एशियाली विकास बैंक, विश्व खाद्य संगठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरु सहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुनेछ ।

कट्टेलका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजा सम्बन्धी कार्यपत्रहरु प्रस्तुती गरिने छ ।

जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापन सम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा जापान, ताईवान, नेदरल्याण्ड र भारतका १० वैज्ञानिक सहित तीन सय जनाभन्दा बढीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ । दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुती र छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफल र समापन गरिने छ ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरु, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरु सहभागी हुनेछन् । यसैगरी कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि र प्राध्यापकहरुको सहभागीता रहने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलो पटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धीहरुको आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस !