
चितवनः जिल्लामा रहेका सात वटा सामुदायीक विद्यालयमा प्राबिधिक शिक्षा पठन पाठन भईरहेका छन् । ती विद्यालयमा प्राबिधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा आकर्षण बढ्न नसकेको हो ।
शिक्षा बिभागले सञ्चालन गरेको प्राबिधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा रहेको प्रभात माध्यामिक विद्यालयमा अहिले सिभिल इञ्जिनियरिङ्को पढाई हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले प्राबिधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुरुवाती समयमा आकर्षण देखिए पनि अहिले त्यो आकर्षण कायम रहन सकेको छैन ।”
बि.सं. २०७३ सालबाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरु गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार पहिलो वर्ष तोकिएको कोटा ४८ जनानै भर्ना भएका थिए । त्यसपछिका वर्षहरुमा क्रमशः संख्या घट्दै आएर यस वर्ष ३२ जना मात्रै भर्ना भएको उहाँले बताउनुभयो । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जीनियरीङ् पढाई हुन्छ । उनीहरुले कक्षा १२ उत्तीर्ण गर्दै गर्दा सब इन्जीनियर हुन्छन् ।
प्राबिधिक तर्फ बि. सं. २०७४ सालबाट कृषि शिक्षा अध्ययन गराउँदै आएको भरतपुर महानगरपालिका वडा नम्बर २० को भिमनगर माध्यामिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण कम भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार एसईईसम्म विद्यार्थीहरुले प्राबिधिक शिक्षा अध्ययन गरे पनि पछि धार परिवर्तन गर्ने गरेको बताउनुहुन्छ । कक्षा ९ मा भर्ना हुने विद्यार्थीको संख्या अनुपातमा कक्षा १२ सम्ममा पुग्दा आधा आधि मात्रै रहने गरेको उहाँको भनाई छ ।
कक्षा ९ मा कोटा अनुसार भर्ना भए पनि कक्षा १२ सम्म पुग्दा ८ जना मात्र भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कक्षा ९ मा ४५ जना भर्ना भएका छन् भने कक्षा १० मा ३४ जना, कक्षा ११ मा १५ जना र कक्षा १२ मा ८ जना भर्ना भएका छन् । सुरुवाती वर्ष १५ जना विद्यार्थी भर्ना भएका थिए । उहाँले भन्नुभयो “विद्यार्थीहरुले एसईईमा राम्रो ग्रेड ल्याउनका लागि कृषि पढ्ने र पछि गएर बिज्ञान पढ्ने भन्दै धार परिवर्तन गर्ने गरेका छन् ।” समुदाय स्तरमा प्राबिधिक शिक्षाको ज्ञान पु¥याउन नसक्दा यस्तो समस्या आएको उहाँले बताउनुभयो ।
माडी माध्यामिक विद्यालय माडीमा अहिले पशु बिज्ञान अन्तर्गतको प्राबिधिक शिक्षा अध्ययन भईरहेको छ । जहाँ पहिलेको तुलनामा अहिले विद्यार्थीको संख्यात्मक चाप नभएको पाईएको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्र प्रसाद पौडेलका अनुसार सुरुवाती समयमा जस्तो चाप नभए पनि विद्यार्थीका आकर्षण बिस्तारै घट्न थालेको छ । बि. सं. २०७३ सालबाट अध्ययन सुरु गरेको यस विद्यालय सुरुवाती दुई वर्ष कोटा अनुसारको विद्यार्थी भर्ना भएको भए पनि पछिल्ला वर्ष घट्दै गएर अहिले २९ जना बिद्यार्थी भर्ना भएको उहाँले बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार नेपाल मावि रत्ननगरमा वाली विज्ञान, बुद्धशान्ती मावि राप्तीमा पशु विज्ञान, त्रिबेणी बराह मावि इच्छाकामना गाउँपालिकामा कम्युटर इन्जिनियरीङ् शिक्षा अध्यापन भईरहेको छ । ईकाइका प्रमुख भूमिलाल सुवेदीले कक्षा १० सम्म पढ्ने विद्यार्थी भए पनि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी संख्या न्यून रहेको बताउनुभयो । कोटा अनुसार विद्यार्थी भर्नामा केही विद्यालयहरुमा प्रबेश परीक्षा समेत लिने गरेको भए पनि सबै विद्यार्थी कक्षा १२ सम्म नपुग्ने गरेको उहाँको भनाई छ । शिक्षा बिभागबाट चितवनमा पहिलो पटक बि. सं. २०६९ सालमा प्राबिधिक शिक्षा कक्षा ९ देखि लागू गरिएको हो ।