चितवनः चितवन र आसपासका जिल्लाका छात्राहरुको आकर्षण कन्या क्याम्पसमा परेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्राहरु मध्ये आधा चितवन बाहिरका रहेका छन् ।

हाल क्याम्पसमा अध्ययनरत बिद्यार्थीको संख्या १ हजार ६ सय भन्दा बढि रहेको छ । जस मध्ये १ हजार ५४ जना स्नातक र स्नातकोत्तरका रहेका छन् । कक्षा ११ मा बिद्यार्थी भर्ना भैरहेकाले संख्या थपिदैं गएको छ । क्याम्पसका प्रमुख भोजराज न्यौपानेका अनुसार क्याम्पसमा चितवन सहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन्। यस संगै देशका २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । बिगतका वर्षहरुमा क्याम्पसका प्रध्यापक, कर्मचारीहरु ती जिल्लाहरुमा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए ।

पछिल्ला वर्षहरुमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए), भौतिक पूर्बाधार, पठन पाठनमा प्रयोग हुने प्रबिधि, छात्रबृत्ती लगाएतका कारण बिद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको उहाँले बताउनुभयो । न्यौपानेले भन्नुभयो “अहिले हाम्रो क्याम्पसमा छिरेको बिद्यार्थी भर्ना गरेर मात्र बाहिरीन्छन् ।” क्याम्पसमा स्नातकोत्तर पढ्ने बिद्यार्थीको नतिजा शत प्रतिशत रहेको छ ।

स्नातकको नतिजा उत्कृष्ठ रहेको छ । क्याम्पसमा पढाउने प्रध्यापकहरुमा महीलाको संख्या वढ्दो रहेको छ । क्याम्पसले दुई वर्ष अघि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। यस वर्ष कक्षा ११ मा दुई सय १० जना विद्यार्थी भर्ना भइसकेका छन्। बिद्यार्थी भर्ना हुने क्रम जारी रहेको छ । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय ९२ विद्यार्थी भर्ना भएका थिए। क्याम्पसमा ठाउँ अभावका कारण कक्षा ११ मा चाहे जति बिद्यार्थी पढाउन सक्ने अबस्था छैन । जसका कारण चाहेर पनि सबै छात्राले कन्या क्याम्पस पढ्न पाउने अबस्था नभएको उहाँ बताउनुहुन्छ ।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो। समाजसेवी स्व.मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो। विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे। हाल स्नातक र स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेल बिगतका वर्षहरुमा ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झनुहुन्छ । स्व. श्रेष्ठको जीवनको अन्तिम क्षण सम्म सेवामा लाग्नुभएका पौडेल क्याम्पसको अध्यक्ष भए संगै भएका परिवर्तनहरुले पनि क्याम्पसमा बिद्यार्थीको संख्या बढाउन सकेको हो । उहाँले भन्नुभयो “आमा मैयादेवीको सपना पुरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ठ वनाउनका लागि हामी लागिरहेका छौ ।” क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको पौडेलको भनाई छ । समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उहाँको भनाइ छ।

गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको पौडेलले बताउनुभयो । अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन्। यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ। जिल्ला र बाहीरका अभिभावकहरुलाई आफ्ना छोरीहरु कन्या क्याम्पसमा पढाउँदा थप सुरक्षित महशुश गर्ने भएकाले अभिभावकको रोजाई कन्या क्याम्पस पर्ने गरेको छ । राजमार्गको कोलाहालबाट केही पर तर हिडेर सहजै पुग्ने भएकाले बिद्यार्थीका लागि क्याम्पस सहज वनेको छ ।

प्रतिक्रिया दिनुहोस !