चितवनः बिद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या वढ्दै गए पछि खैरहनी नगरपालिकाका बिद्यालयहरु २ दिनका लागि वन्द गरिएको छ । साउन २१ र २२ गते दुई दिन पालिका भित्र रहेका बिद्यालय तथा क्याम्पसहरु वन्द गरिएको हो ।
नगर शिक्षा अधिकारी राजु बानियाका अनुसार पछिल्लो समय बालबालिकाहरुमा आँखा पाक्ने समस्या देखिन थालेपछी बिद्यालय वन्द गरिएको हो । सामुदायीक बिद्यालयमा परिक्षा सकिएर वर्षे विदा भएकाले संस्थागत बिद्यालय र क्याम्पसहरु वन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
बिद्यालय आउने बिद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पक्ने समसया देखिए पछि बिद्यालय वन्द गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गरिएको बिदा विद्यालयले हिउँदे र बर्से बिदाबाट कट्टा हुने गरि गरिएको छ ।” यस पालिकामा सामुदायीक बिद्यालय २७ वटा, संस्थागत बिद्यालय २२ वटा र कलेज ४ वटा रहेका छन् । यहाँ १७ हजार ५ सय बिद्यार्थी अध्ययन गर्दै आएका छन् ।
मौषममा आएको परिवर्तन संगै एडिनो भाईरस कन्जंग्टिवाइटिसका कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको हो । यो संक्रमण ५ देखि ७ दिनमा निको हुने नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट बच्नका लागि आँखाका बिरामीको संसर्गमा आउन नदीने, कालो चस्मा लगाउने, आँखा परिक्षण गरी औषधिको प्रयोग गर्ने, सफा पानीले नियमित आँखा सफा गर्ने, नियमित साबुन पानीले हात धुने, तौलिया, रुमाल, लत्ता कपडा तथा श्रृङ्गारका सामानहरु साझा रुपमा प्रयोग नगर्ने लगाएतका कार्य गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !