
चितवनः भरतपुर महानगरपालिकाले स्वस्थ जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । आउँदो आर्थिक वर्षबाट “शिक्षामा योग, टाढा राखौं रोग” भन्ने नाराका साथ सामाजिक संघसंस्थासँगको समन्वयमा विद्यालयहरूमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउनन लागिएको हो ।
योग र प्राकृतिक चिकित्साको महत्व बढाउन महानगरले यस्तो कार्यक्रम अघि सारेको हो । महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवनउपयोगी ज्ञानलाई समेत ध्यान दिंदै आफ्नो नीति तथा कार्यक्रममा यस्ता विषयलाई समावेश गरेको बताउनुभयो ।
शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन “मौलिक र व्यवहारिक शुक्रबार” अभियान कार्यान्वयनमा ल्याउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “शुक्रबार पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ ।”
महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने उहाँको भनाई छ । प्रारम्भिक बाल विकास शिक्षालाई गुणस्तरीय बनाउन महानगर भित्रका प्रारम्भिक बाल विकास उमेर समूहका सबै अवस्थाका बालबालिकाको शिक्षामा समतामूलक पहुँच सुनिश्चित हुने गरी बाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षाहरूको व्यवस्थापन सुधार गरिने भएको छ । मापदण्डका आधारमा सूचक विकास गरी बाल विकास केन्द्रको वर्गीकरण गर्नुका साथै (क) श्रेणीका बाल विकास केन्द्रलाई थप प्रोत्साहन उपलब्ध गराउन लागिएको छ ।
बालबालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्दै गुणस्तर सुधारका लागि महानगरबाट विनियोजन हुने बजेटका अतिरिक्त वडामा छुट्ट्याइएको बजेटबाट कम्तीमा १० प्रतिशत शिक्षा विकासका लागि विनियोजन गर्ने व्यवस्था मिलाइने भएको छ । शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याईने दाहालले बताउनुभयो । जनप्रतिनिधिलाई विद्यार्थीसँग जोड्दै विद्यार्थीका भावना, विचार, अपेक्षा र आवश्यकता बुझ्न र उनीहरूलाई प्रेरणा र हौसला प्रदान गर्न माध्यमिक तहका विद्यार्थीसँग नगर प्रमुख तथा उपप्रमुखको प्रत्यक्ष उपस्थितिमा अन्तरक्रिया गर्ने गरी “विद्यार्थीसँग मेयर“ कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
“हाम्रो गौरव, हाम्रो भरतपुर“ विषयको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमको सिकाइलाई व्यवहारिक र प्रत्यक्ष रूपमा संलग्न भएर सिक्ने सिकाउने व्यवस्था मिलाउन स्थानीय पाठ्यक्रममा आवश्यक परिमार्जन गर्दै शिक्षक निर्देशिका विकास गरी कार्यान्वयनमा ल्याइने भएको छ । शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याईने भएको छ । उपप्रमुख चित्रसेन अधिकारीले महानगरको ग्रामीण भूभाग रहेको २९ नम्बर वडाका विद्यालयसम्म जानका लागि भाडामा बस्नुपर्ने शिक्षकलाई मासिक रु. दुई हजार प्रोत्साहन स्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा क्षेत्रमा हामी अग्रणी छौं, अझै राम्रो गर्ने प्रयासमा छौं ।”