
चितवन, कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले मंगलबार भरतपुरमा बालसंरक्षण मानव बेचबिखन तथा ओसारपसारको अवस्थाका सवालमा स्थानीय जनप्रतिनिधी तथा संचारकर्मीहरुको लागि तालिम कार्यक्रम आयोजना गरेको छ ।
मानवबेचबिखन, मानव तस्करी तथा ओसारपसार र बालसंरक्षण निकै संवेदनशील विषय भएको भन्दै संचारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्दा सहज र सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सेलर्डका कार्यक्रम संयोजक कपिल अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षण दिँदै संयोजक अर्यालले मानवबेचबिखनमा अधिकांस बालबालिका पर्ने भन्दै यसको लागि स्थानीय प्रतिनिधी तथा संचारकर्मीको भुमिका महत्वपूर्ण हुनुपर्ने उहाँको भनाई थियो ।
संयोजक अर्यालले बालगृहका संचालकहरुले बालबालिकाका आधारभुत आवश्यकता पुरा हुनेगरी मापदण्ड अनुसार बालगृह संचालन गर्नुुपर्ने तर अधिंकास बालगृहको कुनैपनि मापदण्ड नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बालगृह एस.ओ.एस मोडलमा चल्नु पर्दछ र अन्तिममा परिवार भएको बालबालिकाहरुको पहिचान गरेर पुर्नमिलन गराउन पर्दछ ।’ उहाँले संचालक तथा बालबालिका फरक फरक जिल्लाको हुने र बालगृह संचालन भएको स्थान शहर केन्द्रित हुने भन्दै यसको निम्ती स्थानीय जन प्रतिनिधीहरुले भुमिका खेल्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संचारकर्मी तथा सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी सरीता पौडेलले बालबालिकाहरु आफ्नो घर फर्कन चाहे पनि संचालकहरुको आम्दानी घट्ने डरले घर पठाउन नचाहेको जानकारी दिनुभयो ।
वडा नं. २३ का वडाध्यक्ष दिपक दवाडीले बालबालीका क्षेत्रमा स्थानीय जनप्रतिनिधले गर्नुपर्ने भुमिका निभाएको बताउनुभयो । आफ्नो व्यक्तिगत तर्फबाट पनि बालबालिका तथा स्थानीय जनताहरुलाई विभन्न आर्थिक लगायतका सहयोग गर्दै आएको स्वमण गराउँदै उहाँले बालगृह मापदण्ड अनुसार संचालन हुन आवश्यक रहेको बताउनुभयो । त्यसैगरी वडा नं. २१का वडाध्यक्ष कृष्ण कुमार गुरङले बालबालिका तथा महिलाको हितमा आफुले पहिल्यै देखि काम गर्दै आएको बताउनुभयो ।
केन्द्रका प्रमुख सुकदेव सापकोटाले बालगृहमा आफ्ना बच्चा राख्नका लागि बाबु आँफैले आफ्नो मरेको प्रमाणपत्र बोकेर हिँडेको अवस्था रहेको भन्दै उहाँले बालगृह संचालन गर्दा ‘एकजिट’ प्लान गराएर मात्र संचालन गर्नुपर्र्नेे जानकारी दिनुभयो । उहाँले प्रत्येक स्थानिय तहमा एक जना बाल कल्याण अधिकारी हुन जरुरी रहेको र स्थानीय तह घर पछिको दोस्रो घर हुने बताउनुभयो ।