
चितवनः जिल्लामा रहेर व्यवस्थापन संकाय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, शाहीद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बिश्वबिद्यालय अनुदान आयोगको एनईएचइपी परियोजना अन्तर्गत उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।
बिश्वबिद्यालयले माग गरेको आशयपत्रको मूल्याङ्कंन अनुसार १८ वटा क्याम्पस यस परियोजनामा छनोट भएका थिए । जस मध्ये चितवनका तीन वटा क्याम्पस रहेको क्याम्पसहरुले संयुक्त रुपमा शुक्रबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन । कार्यक्रमको कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायताको यस नविन लागि इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको सो अवसरमा जानकारी दिइयो ।
यस उद्यमशिलता विकास कार्यक्रममा प्रति वर्ष प्रति क्याम्पस ३० जना विद्यार्थी, पूर्वविद्यार्थी, र युवा प्राध्यापकहरु छनोट हुने छन् । तालिम प्राप्त गरिसकेपछि मुल्याकंनमा छनौट भएमा आफ्नो व्यवसायीक आइडिया अनुरुपको प्रस्ताव पेस गरेर विश्वविद्यालय अनुदान आयोगको मापदन्ड पुरा गरे पछी प्रस्तावित लगानी रकमको ६० प्रतिसत रकम बिश्वबिद्यालयले बेहोर्ने छ । रु पाँचलाख देखि रु चालीस लाख सम्म प्रति प्रस्ताव सहायता रकम प्राप्त गर्न पत्रकार सम्मेलनमा जानकारी दिईयो । यो रकम तीन वर्ष सम्म बिना व्याज प्रयोग गर्न पाईने छ । यस्तो सहायता रकम प्राप्त गर्न यस कार्यक्रमको प्रक्रिया भित्र रही आवेदन पेस गरेपछि प्राप्त आवेदनहरु मध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्ने सो अवसरमा जानकारी दिईएको थियो ।
क्याम्पसबाट छानिएको आवेदनलाई विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरे पछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवशायको प्रगति अनुसार प्राप्त गर्न सक्ने छन् । प्राप्त गरेको अनुदान रकम उद्यमशिलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ । यही जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिहरु मध्येबाट तीनैवटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । आवेदन संकलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका तीनवटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीहरुलाइ तालिम उपलब्ध गराईने छ । यो कार्यक्रम चितवनको आर्थिक विकास र उद्यमशिलताको प्रवर्द्धनको लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । चितवनलाई उद्यमशिलता र नवप्रवर्तनको केन्द्रको रुपमा विकास गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, सोही क्याम्पसका कपिल सुवेदी, शहीद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाई, सोही क्याम्पसका सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साईसन्सका प्रिन्सीपल चोक वहादुर क्षेत्री लगाएतले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।