चितवनः जिल्लाका वर्डफ्लु प्रभावित किसानहरुलाई राहत बितरणको काम सुरु गरिएको छ । संघिय सरकारले वर्डफ्लु प्रभावित किसानलाई राहत दिने निर्णय गरे संगै जिल्लाका किसानहरुले आजबाट राहत रकम पाउन सुरु गरेका हुन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार वि.सं. २०७८ साल कात्तीक १२ गते देखि २०७९ असार ७ गते सम्म जिल्लामा वर्डफ्लुको संक्रमण देखिएको थियो । सो सङ्क्रमणका क्रममा नष्ट गरिएका कुखुरा लगाएतका कुखुरा जन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका बस्तुको समेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार आजबाट प्रभावित कृषकको खातामा पैसा पठाउन सुरु गरिने छ । उहाँले भन्नुभयो “वर्डफ्लु प्रभावित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार ७४९ राहत रकम आएको छ । यो रकम बितरणको काम सुरु भएको छ ।” प्रभावित किसानको खातामा सोझै भूक्तानी गर्ने गरी काम अघि वढाईएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरीएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।” ३ लाख ६९ हजार ३ पंक्षि, ७ लाख ३ हजार ६२५ अण्डा र ९८ हजार ७२८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट रु ४२ करोड ५५ लाख ८ हजार ९९९ क्षती भएको सिफारीस गरिएको थियो ।
वर्डफ्लुका कारण जिल्लामा ३ लाख ७२ हजार ६१२ पंन्छि नष्ट गरीएको होे । वर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएका थिए । उहाँका अनुसार बिभिन्न उमेर समुहका लेयर्स कुखुरा ३ लाख ५८ हजार १११ वटा नष्ट गरिएको थियो ।
यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३ वटा, कडकनाथ ८९६ वटा, ब्रोइलर ८९६ वटा, टर्की ५ सय वटा नष्ट गरीएको थियो । स्थानिय जातका कुखुरा १३२ वटा, हाँस ३६ वटा, बट्टाई ८ वटा नष्ट गरीएको केसी जानकारी दिनुभयो । सोही क्रममा लेयर्स कुखुराको अण्डा ५ लाख ५० हजार ७९१ वटा, प्यारेन्ट अण्डा १ लाख ७८ हजार ५६४ वटा, क्रेट १ लाख २८ हजार ९२० वटा नष्ट गरीएको थियो । दाना ९४ हजार ७२८ किलो, टर्कीको अण्डा ६ हजार ३ सय वटा, हाँसको अण्डा २० वटा, अण्डा राख्ने काटुन २ हजार ५ सय वटा, डाला ६६० वटा, टर्कीको मासु १२० किलो र कुखुराको मासु ४० किलो नष्ट गरीएको थियो ।






