चितवनः चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धाीभन्दा ४२ हजार ९६२ बढी मत ल्याएर विजयी हुनु भएको हो ।

लामिछानेले ५४ हजार १७६ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गर्नुभयो भने नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले ३७५ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा ७८ हजार ६६४ मत खसेको थियो । जसमध्ये १ हजार १९८ बदर भई ७७ हजार ४६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ र राप्रपाका रविन अधिकारीले ९५५ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला ८४ हजार ७५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार ९५६ सदर मत थियो । उक्त समयमा १ लाख २४ हजार २१५ मतदाता रहेका थिए ।

मंसिरमा १० वटा दल र ६ जना स्वतन्त्र उम्मेदवार रहेका थिए भने अहिले १२ वटा दल र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । यो क्षेत्रमा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस !