चितवनः चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मत गणना दिउसो १ वजेबाट सुरु हुने भएको छ । आज विहान वसेको सर्बदलीय वैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
आईतबार राती वसेको सर्वदलीय वैठकबाट सहमती जुट्न नसकेपछि आज पुनः बसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शव्दहरुका बिषयमा आबश्यक कारवाही गर्ने, मतगणना क्षेत्र मुख्यनिर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि वढाउने लगाएतका निर्णय भएका छन् ।
नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै उजुरी दिएको छ । आइतबार साँझ वैठकमा प्रमुख जिल्ला अधिकारी नआएको भन्दै काङ्ग्रेस, नेकपा एमाले सहितका दलहरुले आपत्ति जनाए पछि बिहान पुनः वैठक वसेको हो । ती दलहरुले प्रमुख जिल्ला अधिकारीको संलङ्नतामा आचारसंहिता उलंघन भएको आरोप लगाउँदै बैठकमा जवाफ दिनुपर्ने माग गरेका थिए ।
यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । जसमा ७८ हजार २७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसंगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन भएको हो ।






