चितवनः चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलब ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ वजे देखि साँझ ५ वजे सम्म मतदान भएको हो ।
मतदान सकिए संगै अहिले मत पेटिका मत गणनास्थल तर्फ ल्याउने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । जसमा ७८ हजार २७७ मतदाताले मतदान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका चितवनका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यका अनुसार अहिले मत गणना स्थल उद्योग संघ चितवनको अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा ल्याउने प्रकृया सुरु भएको छ । आज राती १० वजे सम्म मतपेटीका आईपुग्ने उहाँले जानकारी दिनुभयो । मतपेटीका आए संगै राजनैतिक दलको सहमतीमा आज रातीबाटै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताउनुभयो । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । बैशाख १३ गते सम्म नतिजा आउने गरी गणनाको काम गरिने उहाँको भनाई छ ।
यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसंगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
गत मसिंर ४ गते सम्पन्न निर्वाचनमा ६७ दशमलब ६३ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको थियो । सो समयमा १ लाख २४ हजार २१७ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !