चितवनः चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ नयाँ किरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलिय वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको बिषयमा माफि माग्ने लगाएतका चार वटा बुद्धामा सहमती भए पछि विहान ११ः३० वटा रोकिएको मतदान दिनको ३ वजेबाट सुचारु भएको हो ।
मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको बिषयमा माफि माग्ने, मतदान केन्द्रको ३ सय मिटर वरिपरी शान्ति सुरक्षा कायम गर्ने, आचार संहिता उलंघनको विषयमा मुख्य निर्वाचन अधिृतलाई मतदान अधिकृतहरुले लेखि पठाउने निर्णय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नारावाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताहरुले बिरोध जनाएपछि मतदान रोकीएको थियो । मतदान रोकिए संगै सुरक्षा कर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रलाई सुरक्षित गरिएको थियो । यस स्थलमा ७ वटा केन्द्रबाट मतदान भईरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यले दलका प्रतिनिधिहरु संगको छलफल पछि मतदान सुरु गरिएको जानकारी दिनुभयो । नाराबाजी गरे संगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिहरुले लगाएका थिए ।
यसै बिच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ वजे सम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ वजेबाट मतदान जारी रहेको छ । यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ वजेदेखि सुरु भएको मतदान साँझ ५ वजे सम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसंगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।






