चितवन:  चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका क्रममा एउटा मतदान स्थलमा मतदान प्रकृया स्थगित भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ नयाँकिरण माबिमा मतदान स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नारावाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताहरुले बिरोध जनाए संगै बिहान ११ः३० वजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा ७ वटा केन्द्रबाट मतदान भईरहेको थियो । अहिले मतदान स्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यले जानकारी दिनुभयो । नाराबाजी गरे संगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिहरुले लगाएका छन् । सर्वदलिय वैठक वसेर मतदान प्रकृया सुरु गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बैठकको तयारी भईरहेको छ । जटिल समस्या नभएकाले बैठक पछि मतदान सुरु हुन्छ ।”
यसै बिच आज जारी उपनिर्वाचनका क्रममा अहिले सम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ वजेबाट मतदान जारी रहेको छ । यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ वजेदेखि सुरु भएको मतदान साँझ ५ वजे सम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसंगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !