चितवनः चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि आज मतदान जारी रहेको छ । मतदानका लागि लामबद्ध भएका मतदाताहरुमा खासै उत्साह भने पाईदैन । बाध्यात्मक परिस्थितिका कारण दोस्रो पटक निर्वाचन भए पछि मतदान गर्न भने मतदाता आएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको बालकुमारी माध्यामिक बिद्यालयमा रहेको मतदान स्थलबाट मतदान गर्न आउनु भएकी दिलमायाँ मोक्तानले दोस्रो पटक मतदान बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा सहभागिता जनाउन पाउनु खुशिको कुरा हो । दोहो¥याएर मतदान गर्नु बाध्यता हो ।” यध्यपि आँफ्नो मताधिकार प्रयोग गर्न पाउँदा उत्साहीत रहेको उहाँको भनाई छ ।
मतदाता सिता लामिछानेले यो निर्वाचनलाई रहर नभएर बाध्यताको रुपमा लिनु भएको छ । उहाँले भन्नुभयो “दोहो¥याएर मतदान गर्नु नराम्रो भए पनि आफ्नो अधिकार प्रयोग गर्न पाउँदा खुशि लागेको छ ।” परिस्थितिले पुनः निर्वाचनको बातावरण वने पनि फेरी त्यस्तो अवस्था नआओस भन्ने लागेको उहाँको भनाई छ । मतदानका लागि आम निर्वाचनमा जस्तो लामो समय कुर्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “जनताको मर्म बुझ्ने र देशको बिकास गर्ने नेतृत्व चयन गर्नुपर्छ ।”
भरतपुर महानगरपालिका वडा नम्बर १२ बाट नारायणी नमुना माबिमा मत हाल्न आउनुभएकी ८० वर्षिया डिलकुमारी पराजुलीले समेत मतदान गर्नु भएको छ । उहाँले उपनिर्वाचनका क्रममा मतदान गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “देशको बिकास र स्वदेशमानै रोजगार दिन सक्ने नेतृत्व चयन गर्नुपर्छ । छोराछोरी सबै बिदेश जानुपर्ने बाध्यताको अन्त्य होस् भन्ने चाहान्छु ।” निर्वाचन जितेर गएका नेताहरुले खासै काम गर्न नसकेको उहाँको बुझाई रहेको छ । उहाँ भन्नुहुन्छ “पुराना नेताले काम गर्न सकेनन् युवा पुस्ताले देश चलाउनुपर्छ ।” दोस्रो पटक मतदान गर्न आउनु परेकालाई उहाँले बाध्यताको रुपमा लिनुभयो ।
८६ वर्षिय भिम बहादुर पौडेल दलहरु प्रति बिश्वास गुम्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । पन्चायत काल देखिनै बिभिन्न समयमा भएका निर्वाचनमा मताधिकार प्रयोग गर्नुभएका उहाँले देशमा शुशासनका लागि अहिले मतदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो“दशमा सक्षम र सवल नेतृत्वको आबश्यक छ । अहिलेको परिस्थितिलाई हल गर्न सक्ने नेतृत्व उपनिर्वाचनबाट चयन होस् भन्ने चाहेको छु ।” उपनिर्वाचन गर्नु देशका लागि राम्रो नभएको बताउँदै उहाँले देश बिकास गर्ने क्रममा लाग्नुपर्नेमा निर्वाचन गरेर मात्रै समस्या समाधान नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष कालिका नगरपालिकाका स्थायी बासिन्दा राधेश्याम खतिवडाले मतदातामा उत्साह नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिलेको जस्तो उत्साह छैन ।”मतदान गरेर फर्कदैं गर्दा धेरैले यस्तो नभएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया आफुले पाएको उहाँले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाको मुग्लिनका बिनोद श्रेष्ठले पनि मतदातामा उत्साह नपाएको बताउनुभयो । मतदान स्थलहरुमा आएकाहरुले आँफुहरु बाध्यताका कारण मतदान गर्न आएको बताएको उहाँले जानकारी दिनुभयो । बाहिर रहेका निकै कम मतदाता मात्र भोटहाल्न आफ्नो गाउँ फर्कीएका छन् । गत मंसिरमा काठमाडौंबाट भोट हाल्न सपरिवार फर्किएका भरतपुर १२ का तिलक रिमालका दाजुको परिवार यस पटक नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “उपनिर्वाचनमा धेरैले चासो कम दिएका छन् । मानिसहरुमा उत्साहा कम छ ।”
यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ वजेदेखि सुरु भएको मतदान साँझ ५ वजे सम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसंगै २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरे पछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।






