चितवन: चितवन क्षेत्र नम्बर २ मा आईतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याईएको छ । तयारी स्वरुप यस क्षेत्रमा रहेका मतदान स्थलहरुमा कर्मचारी र सुरक्षा कर्मी पुगिसकेका छन् । उनीहरुले मतदान स्थल निर्माण, चार किल्ला तोक्ने र राजनैतिक दलहरुसंग छलफल गर्ने लगाएतका कामहरु सम्पन्न गरीसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका १३८ केन्द्रमा ६९० जना कर्मचारी खटिएका हुन् । उनीहरुसंगै सुरक्षा कर्मीहरु समेत परिचालन गरिएको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् । ती मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्याबश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोग नेपालद्धारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धि मापदण्ड २०७९ बमोजिम अत्याबश्यक एम्बुलेन्स, दमकल लगाएतका सवारी साधन बहेकका सवारी साधन सञ्चालनमा रोक लगाईएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलद्धारा जरी बिज्ञप्तीमा निर्वाचनको दिन बिहान ६ वजे देखि साँझ ६ वजे सम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एबं भित्रि सडकहरुमा सवारीमा रोक लगाईएको छ । उपनिर्वाचन सिमिति क्षेत्रमा हुने भएकाले सुरक्षका लागि यो व्यवस्था गरिएको हो ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्र भित्र मदिरा बिक्रि बितरणका लागि रोक लगाईएको छ । वैशाख ७ गते राती देखि मतदान सम्पन्न नभए सम्मका लागि मदिरा बिक्रि बितरणमा रोग लगाईएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ वमोजिम सो क्षेत्र भित्र मदिरा बिक्रि बितरणमा रोक लगाएको हो ।






