चितवनः भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारहरुलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेहरुका लागि तालिममा पठाउन थालेको छ ।

कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाईएको छ । पाँच जनाले इन्टन गरिरहेका छन् । आउँदो वर्षका लागि ८९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिईसकेका छन् । रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यस वर्ष ८ वटा वडा छनोट गरेको थियो । गत वर्ष ५९० जनाले आवेदन दिएका थिए । ती वडाहरुमा ७४ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । ती मध्ये ५ वटा वडामा काम भईरहेको छ भने दुई वटा वडामा कामदार छनोट भएर कामको तयारी भईरहेको छ ।

यस वर्ष रु.४४ लाख ८६ हजार मात्रै बजेट प्राप्त भएकाले सबैले रोजगारी नपाएका हुन् । यस कार्यक्रम अन्तर्गत सार्वजनिक स्थलका रुखहरुमा रंगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाड्ने, खानेपानी पाईपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाई गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भईरहेका छन् । कामदारले दैनिक रु.६१२ पाउने छन् । छनोट भएकाहरुलाई एक सय दिन काम उपलब्ध गराईने छ । वडा कार्यालयले कामको छनोट गरी सिफारिस गरे अनुसार काम गराईदै आएको छ । ती कामदारलाई बुट, पञ्जा, हेल्मेट, कपडा जस्ता सामग्री महानगरपालिकाले उपलब्ध गराएको छ । वाग्लेले सूचिकृत भएका कामदारहरुलाई सरकारी र निजी क्षेत्रहरुमा कामका लागि पठाउने गरी संयोजनको काम गरिरहेको बताउनुभयो । यस वर्ष हालसम्म १८ जनालाई निजी विद्यालय, क्याम्पस, शैक्षिक परामर्श केन्द्र, अटो पसल, होटल, उद्योग लगायतमा पठाईसकिएको छ ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सहकार्य गरेर पाँच जनालाई इन्टन गर्न पठाईएको उहाँले बताउनुभयो । उद्योग संघ चितवनसँग सहकार्य गरेर रोजगार पोर्टल सञ्चालन ल्याउन लागिएको छ । यससँगै कामदार र रोजगारदाता कम्पनीलाई एकआपसमा जोडेर रोजगार दिईने छ । यसै कार्यालयले श्रम स्वीकृतिको काम समेत गरेको छ । बि.सं. २०७५ सालबाट यो कार्यक्रम शुरु भएको हो । गत वर्ष ८५ जनालाई रोजगारी दिईएको थियो । महानगर प्रमुख रेनु दाहालले महानगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताउनुभयो । उहाँले महानगरको सौन्दर्यकरण र विकास निर्माणलाई यस कार्यक्रमसँग जोडेर लैजाने तयारी गरिएको बताउनुभयो । जति गर्न पर्ने हो गर्न नसकिएको भन्दै आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाईने बताउनुभयो ।

स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको बताउनुभयो । देशमै विकासको नमूना काम भईरहेको भरतपुर महानगरका वासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको भन्दै उहाँले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !