चितवन: चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काईएका एक सय साठी गोही राप्ती नदिमा छोडिएको छ । चालू आर्थिक वर्षमा केन्द्रमा हुर्काईएका गोहि नदिमा छोडीएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार कसरा घाटबाट एक सय, खगेन्द्रमल्लि नजिकबाट २० र सौराहा घाटबाट ४० वटा गोही राप्ती नदिमा छोडीएको हो । बन्यजन्तु सप्ताहको पाँचौं दिन १० वटा गोही छोडिए संगै एक सय साठी गोही छाडिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पूर्जा पुनको उपस्थितिमा गोहि छाडीएको तिवारिले बताउनुभयो । अहिले सम्म निकुञ्जको प्रजनन् केन्द्रमा हु्काईएका १ हजार ८५२ वटा गोहि नदिमा छाडिएको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार झण्डै ५ वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । उहाँको भनाईमा १.५ मिटर लम्बाई भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ ।
गत आर्थिक वर्षमा १०७ वटा गोही नदीमा छाडिएको थियो । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिंदै आएको छ ।
हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन् केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा ६४९ भन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।






