चितवनः अण्डाले मूल्य नपाएपछि कुखुरा पालक व्यवसायीहरु ६ महिना अघि संगठित भए । देशैभरका ठूला व्यवसायीहरु भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरुले नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेर देशव्यापी रुपमा बजारीकरणमा जुटेका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) रु.२४० हाराहारीमा झरेको थियो ।

बि.सं. २०७९ असोज २९ गते पहिलो भेला भएर संगठन गरेका उनीहरुले वितेका ६ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीहरुसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य रु.३७० पुगेको छ । संघका अध्यक्ष विनोद पोखरेल यो बीचमा झण्डै ७२ जिल्ला आफूहरु पुगेर बजारीकरणमा काम गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “तीन चार वटा जिल्ला बाहेक सबै जिल्लामा हामी एक पटक पुग्यौं । कति मुख्य बजारहरुमा धेरै पटक पुगेर छलफल ग¥यौं ।”

ब्यवसायीहरुले कुखुरा पालक किसान र स्थानीय ब्यवसायीलाइ भेटेर समस्याका बारेमा छलफल गर्दै आएका हुन । अबैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोध समेत गर्दैै आएका छन । ब्यवसायीलाइ मुल्यमा एकरुपता कायम गर्न उनीहरुले आग्रह गरेका छन। किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन ।

“पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिम पटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ ।” उहाँले थप्नुभयो । किसानकोमा झण्डै आधा कुखुरा घटेको भन्दै उहाँले लागत मूल्य अझै पाउन नसकेको गुनासो गर्नुभयो । देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० जना व्यवसायी यो संघमा आवद्ध छन् । अझै १५ जना जति संघमा आईनसकेको उहाँ बताउनुहुन्छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनु भएका गुणचन्द्र बिष्टलाई संरक्षक बनाएर आफूहरु देशव्यापी अभियानमा जुटेको पोखरेलको भनाई छ । व्यवसायी सुरेश बैद्य, त्रिलोचन कँडेल र शिभाजी साह समितिमा सल्लाहकार रहेर अभियानमा जुट्नु भएको छ ।

व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँको भनाइ छ । संघका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँन्थ्यो । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय ७० पुगेको छ । ढकालको भनाइमा अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ५० हाराहारी छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्न लागिपरेको बताउनुहुन्छ । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उहाँको भनाइ छ।

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँले बताउनुभयो । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्र मूल्य प्रतिगोटा रु १६ थियो । लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने उहाँ बताउनुहुन्छ । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुन्छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ । अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत् हुँदै आएको छ । संघका सचिव मदन पोखरेल भारतीय क्षेत्रबाट अवैध रुपमा भित्रिने अण्डा नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । बैंकको ऋणको व्याजदर घटाउनु पर्ने र राज्यले समयमै सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “सरकारले हेरेन भने यो व्यवसाय धरासायी भएर जाने अवस्थामा पुगेको छ ।”

आधाभन्दा बढी व्यवसायी पलायन भईसकेको भन्दै उहाँले उत्पादन घट्दै गएको बताउनुभयो । उत्पादन घट्दा समेत खपत अझै बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रको प्रयासले मात्रै नपुग्ने भएकाले सरकारले सम्बोध गर्नुपर्ने बताउनुभयो । व्यवसायीहरु आफ्नो व्यवसाय छाडेर सामुहिक बजारीकरणका लागि जुटेको उहाँ बताउनुहुन्छ ।

राष्ट्र बैंकको मौद्रीक नीतिका कारण व्यवसायीहरु थप मर्कामा परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !