चितवनः पर्यटकीय दृष्ट्रिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिबिधि वढाउने उद्धेश्यका साथ प्याराग्लाइडिङको व्यवसायीक उडान सुरु गरिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अबसर पारि उडान सुरु गरेको हो ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा प्याराग्लाईडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष बिजय वहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान शुरू गरिएको हो ।
जंगल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यको रुपमा बसाई लम्व्याउन सकिने गरि प्याराग्लाईडिङ् सुरु गरिएको हो । समुन्द्रि सतहबाट १ हजार २ सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । बिगत ३ वर्ष देखिको अध्ययन अहिले आएर पुरा भएको उहाँले बताउनुभयो । प्याराग्लाईडिङमा १२० किलो तौल भन्दा कम तौल भएकाहरुलाई मात्र उडान भर्न सकिने उहाँले जानकारी दिनुभयो ।
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरि प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका संञ्चालक शालिक दवाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाईडिङ सुरु गरिएको बताउनुभयो । यस क्षेत्रमा निकट भबिश्यमा रोप साईक्लिङ्, बन्जी जम्प जस्ता गतिबिधि गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चौकी डाडाँमा चौकीडाँडा रिसोर्ट समेत निर्माण गरेर यहाँको पयैटन प्रबर्धनमा काम गर्ने योजना छ ।” बि. सं. २०८० सालको सुरुवाती संगै उडान सुरु गरिएको बताउँदै उहाँले चितवनको पर्यटन बिकासमा टेवा पुग्ने वताउनुभयो । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमती पाएको छ ।
प्याराग्लाडिङ उडानका लागि लाग्ने रु ८ हजार तोकिएकोमा अहिले २५ प्रतिशत छूट दिएर रु ६ हजार शुल्क लिइएको दवाडीले बताउनुभयो । हाल ९ ओटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिनुभयो ।
नेपाल प्याराग्लाईडिङ् संघका महासचिब शैलेन्द्र राउतले २०१५ सालमा बिदेशीले यहाँ उडान भरेको बताउनुभयो । पोखरा र यहाँमा छुट्टै बिशेषता रहेको उहाँको भनाई छ । पोखरामा ताल माथि उड्ने, हिमाल देखिने लगाएतका कारण छुट्टै रमाईलो रहेको बताउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशुली नदी माथिको उडानले अझै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “वाटर स्पोर्ट र एयर स्पोटलाई जोडीने ठाउँ रहेको छ ।” चितवन हिड्ने पर्यटकलाई एक दिनको प्याकेज रुपमा दिन सकीने बताउनुभयो । यो प्याराग्लाइडिङ्का लागि उत्कृष्ठ गन्तव्यको रुपमा रहेको उहाँले बताउनुभयो ।
प्याराग्लाईडिङका चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताउनुभयो । बिगत ७ वर्ष देखि अनुभव संगालेका चालकहरुबाट उडान गरिने प्याराग्लाईडिङबाट डाँडाकाँडा देखि खोला नालाको सुन्दर दृश्य हेर्न सकीने भएकाले यहाँ उडानका लागि राम्रो रहेको उहाँले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरि भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताउनुभयो । नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरि भरतपुरमा पर्यटन प्रबर्धनको काम भईरहेको उहाँको भनाई छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गईरहेको भन्दै उहाँले साहासी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटकको बसाई लम्भ्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।” पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्वपूर्ण पालिकाको रुपमा बिकास हुदै गएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटक देखि धार्मीक हुँदै साहासीक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !