चितवनः नेपाल पत्रकार महाँसंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नुभएको हो । अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो ।
पत्रकारीता मार्फत समाजमा पुर्याएकाे याेगदानका आधारमा उहाँलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुनुहुन्छ भने नेपाल प्रेस युनियन चितवनका निबर्तमान अध्यक्ष समेत रहनु भएकाे छ । अधिकारी चितवनबाट पत्रकारीता गरेर विभूषित हुने पहिलाे व्यक्ती हुनुहुन्छ । चितवनमा रहेर बिगत २० वर्ष देखि अधिकारीले पत्रकारिता गर्दै आउनुभएकाे छ ।






