चितवनः गत निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेस चितवनका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आव्हान गर्नुभएको छ । उहाँहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आव्हान गर्नुभएको हो ।

विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नु भएका पार्टीका केन्द्रीय सदस्य दिनेश कोईराला, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले संयुक्त अपिल जारी गर्नुभएको हो ।

“नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गईरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ ।” जारी अपिलमा भनिएको छ ।
कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरी पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ “मुलुकका गम्भीर समस्याहरुको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक रहेको छ ।”
उहाँहरु लगायत विगतको निर्वाचनमा विद्रोही गरेका प्रायः सबै पार्टीमा एकढिक्क हुनु भएको छ । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिनु भएको छ ।
चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्व सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उहाँहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताउनु भएको छ । उहाँहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनः कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गर्नुभएको हो ।

पार्टीको केन्द्रीय समितिले तत्कालिन सभापति सुशिल कोईरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारवाहीमा पर्नुभएका पूर्व जिल्ला सभापति विकास कोईरालाको कारवाही समेत फुकुवा गरेको छ । यससँगै कोईराला पनि पार्टीका उम्मेदवार जिताउन लागि पर्नुभएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले यस अघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिनु भएका अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिनु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !