चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित चौकी डाँडामा खानेपानी आयोजना सञ्चालन भए पछि स्थानीय दङ्ग गरेका छन् । चौकीडाँडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएपछि उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे, सती डाँडाँका बासिन्दा खुशी भएका हुन ।
स्थानीय शुशिला गुरुङले पानीको समस्या समाधान भए पछि निकै खुशी लागेको बताउनु भयो । बिहानको समय आधाघन्टा भन्दा बढी हिडेर खाने पानी ल्याउनु पर्ने बाध्यता अहिले हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पानीको समस्या देख्दा बेक्कार बिहे गरेर यहाँ आएछु भन्ने लाग्थ्यो ।” भोर्ले खोला भन्दा माथिको गुण्डा खोालबाट पानी ल्यउनु पर्ने बाध्यता आयोजना सञ्चालनमा आए संगै हटेको उहाँले बताउनुभयो ।
आयोजनाका सचिब केशव ढकालले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान हुनु महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले भन्नुभयो “पानीको बोत्तलमा माछा मारेझै पानी थापेर ल्याउनु पर्ने बाध्यता अब टरेको छ ।” खानेपानीको समस्या हुदाँ यहाँका जनता आकासे पानी र लामो समय हिडेर पानी ल्याएर खानुपर्ने बाध्यता रहेको उहाँले सुनाउनु भयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सो क्षेत्रमा खानेपानीको समस्या सधाका लागि अन्त्य भएको बताउनुभयो ।
यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा दुःख हटेको र खुसीयाली छाएको उहाँँको भनाइ छ । प्रमुख दाहालले यो आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने बताउनुभयो । महानगरले सात हजार लिटर खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा सो आयोजनालाई पनि समावेश गराईने उहाँको भनाई छ ।
संघीय सरकार र प्रदेश सरकारको रु५ करोड ९५ लाख तथा भरतपुर महानगरको रु १ करोड ७५ लाख आयोजनामा लगानी भएको छ । स्थानीयले रु ६२ लाख २५ हजार बराबरको श्रमदान गरी रु ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो । आर्थिक वर्ष २०७५÷०७६ बाट सुरु भएको आयोजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो ।
सो क्षेत्रका ३ सय ५० घर धुरी खानेपानी आयोजनाबाट लाभान्वित भएका छन् । आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ ।
सो वडाका अध्यक्ष सूर्य वहादुर गुरुङ्ले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्र रहेको यस वडामा खाने पानी पुगे संगै स्थानीय लाभान्वित भएको बताउनुभयो । भरतपुर महानगरपालिका हुदैं गर्दा अन्य वडा नगरपालिकाबाट महानगर भएएका थिए भने यो वडा गाउँपालिकाबाट महानगर वनेको वडा हो ।

प्रतिक्रिया दिनुहोस !