चितवनः यही बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि २४ जनाले आफ्नो उम्मेद्धारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यका अनुसार १२ वटा राजनैतिक दलका उम्मेदवार र १२ जना स्वतन्त्र उम्मेद्धारी दर्ता गराउनुभएको हो ।
राजनैतिक दल तर्फ लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका राम प्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका सानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसी, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै जयजन्मभूमि पार्टीका प्रेम बहादुर खड्का, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका छत्रकुमार पाख्रीन, मंगोल नेश्नल अर्गनाईजेशनका टेकवहादुर तामाङ्, राप्रपाका जीवलाल पुरी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका राजेश आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै स्वतन्त्र तर्फ सूर्य श्रेष्ठ, बिक्रम श्रेष्ठ, डा. भोजराज वगाले, सुबास परियार, सुदर्शन कडेंल, तारा प्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, सन्तोष थापा, अम्बिका भट्ट, लक्ष्मिमायाँ कोईराला, रामकृष्ण ओझा, चक्रपाणी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आचार्यका अनुसार २१ गते मंगलबार उजुरी दर्ता, २२ गते उजुरी माथि जाँचबुझ र नामावली प्रकाशन, २३ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्बाचन चिन्ह बितरणको काम हुने छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसगैँ संसद पद पनि गएपछि अहिले उप निर्वाचन हुन लागेको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।






